गृहपृष्ठ १२ अर्ब लगानी भित्र्याउन काम सुरु भइसक्यो : अध्यक्ष पन्त

१२ अर्ब लगानी भित्र्याउन काम सुरु भइसक्यो : अध्यक्ष पन्त

kumar-panta-newskarobar

गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष कुमार पन्तले समृद्ध नेपाल निर्माणका निम्ति लगानी भित्र्याउन संस्था प्रतिबद्धताका साथ लागिपरेको बताएका छन् । उनले एनआरएनएको तर्फबाट १२ अर्ब लगानी भित्र्याउने प्रतिबद्धताका साथ काम सुरु गरिएको जानकारी दिए ।

एनआरएन नवनिर्वाचित पदाधिकारीलाई सम्मान तथा बधाई दिन रिपोर्टस क्लबले शनिबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष पन्तले भने, ‘हामीले सरकारसँग १२ अर्ब भित्र्याउने भनेर एमओयु पनि गरिसकेका छौं, यो प्रतिबद्धता पूरा गर्नका लागि काम सुरु भइसकेको छ । उक्त म्युचुअल फन्डमा ९० प्रतिशत एनआरएनको लगानी रहने र बाँकी १० प्रतिशतमा ५ प्रतिशत निजी क्षेत्र र अर्को ५ प्रतिशत नेपाल सरकारको रहने अध्यक्ष पन्तले जानकारी दिए ।

गैरआवासीय नेपालीले विदेशमा हासिल गरेको ज्ञान, सीप, पुँजी र लगानी नेपाल भित्र्याएर देशको विकास र समृद्धिका लागि सामूहिक लगानी बढाउने उनको भनाइ छ । एनआरएनएले नेपालमा सामूहिक लगानीमार्फत २७ मेगावाटको तोर्दी खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरिसकेको छ ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष मन केसीले दीर्घकालीन योजनासहित काम गर्ने र यसअघिका प्रतिबद्धता कार्यान्वयन गरेरै छोड्ने प्रण गरे । उपाध्यक्षद्वय सोनाम लामा र अर्जुनकुमार श्रेष्ठले सरकारले घोषणा गरेबमोजिम नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल पार्न सक्रिय भूमिका निर्वाह गर्ने बताए । एनआरएनका महासचिव डा. हेमराज शर्माले नवौँ विश्व सम्मेलनमा निर्वाचनको क्रममा उत्पन्न समस्याका कारण संघको छविमा केही प्रश्न उठेको भए पनि त्यसलाई छिटपुट घटनाको रुपमा लिन आग्रह गरे । सचिव आरके शर्मा, सहकोषाध्यक्ष लोक दाहाल र अमेरिका महिला क्षेत्रीय संयोजक उमा कार्की थापाले श्रमिक मजदुरको पक्षमा लागिपर्ने बताइन् ।

प्रकाशित समय ०६:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु