गृहपृष्ठ अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय नेपाली दिवस
अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय नेपाली दिवस
नेपाली राष्ट्रियताका प्रणेता र आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको सम्मान र सम्झनामा अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूले पृथ्वी जयन्तीलाई ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’का रूपमा मनाएका छन् । घना नेपालीको बसोबास भएको सिड्नीको ओबन पार्कमा आयोजित कार्यक्रममा सहभागीले पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेर बलियो सुदृढ देशका साथै विश्व मानचित्रमा नेपालीलाई स्थापित गरेको बताए । सहभागीहरूले नेपालमा बढ्दै गएको ध्रुवीकरणप्रति चिन्ता व्यक्त गर्दै जात, धर्म, राजनीतिक आस्थाभन्दा पनि माथि उठेर नेपाली पहिचानमा गर्व गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए ।
एनआरएन अस्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेलले पृथ्वीनारायण शाहको नेपाल एकीकरणको अभियानकै कारण नेपाली पहिचान स्थापित भएको बताए । पोखरा समाजका सचिव समित केसीले पृथ्वीनारायण शाहलाई अहिलेको समय र राजनीतिक परिस्थितिको आधारमा हेर्न नहुने तर्क गरे । अग्रज समाजसेवी कञ्चन पोखरेलले आफ्ना बच्चाले हामी नेपाली कसरी बनियो भनेर सोध्ने गरेको र बच्चाहरूको यसखालको सोधाइको जवाफ दिन पनि अभिभावकहरूले नेपालको इतिहास र नेपाली राष्ट्रिय धरोहरका बारेमा जानकार रहनुपर्ने बताए ।
एनआरएन अस्ट्रेलियाका पूर्वप्रवक्ता तथा लेखा, वित्त तथा बैंकिङ व्यवसायी डिला खरेलले नेपाली राष्ट्रियता र इतिहासलाई विश्वभर छरिएका नेपालीले गर्वका रूपमा लिएर दोस्रो पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिए । त्यसका लागि अन्तर्राष्ट्रिय नेपाली दिवस एउटा कडीका रूपमा स्थापित हुनुपर्ने उनको भनाइ छ ।
अन्तर्राष्ट्रिय राजनीति, रणनीति र नेपालको अवस्थितिका कारण वर्तमानमा नयाँ न्यारेटिभ स्थापनाका लागि भएका चलखेलले हाम्रो आफ्नै इतिहास र पहिचानमा शंका र प्रश्न उठ्ने, नेपाली जातिको इतिहास र एकतालाई नै भताभुंग पार्ने अवस्था आइसकेको अन्तर्राष्ट्रिय नेपाली दिवस आयोजक समितिका संयोजक मदनमणि अधिकारीले बताए । अधिकारीले भने, ‘देशको संगीन घडीमा विश्वभर छरिएका नेपाली सचेत र एक हुनुपर्छ भन्ने सन्देशका साथ नेपाली आत्मगौरव र आत्मबोधको चेत खोल्न पनि पृथ्वीनारायण शाहको स्मरण जरूरी छ।’
कार्यक्रममा अस्ट्रेलियामा क्रियाशील बहुसंख्यक नेपाली सामुदायिक संस्थाहरूका प्रतिनिधिको सहभागिता थियो । पृथ्वीनारायण शाहको तस्विरमा माल्यार्पण गरेर सुरू भएको कार्यक्रममा एनआरएनए अस्ट्रेलिया महिला संयोजक सन्ध्या शाह, झापाली समाजका अध्यक्ष उमेश पोखरेल, लुमिया नेपाली समाजका अध्यक्ष प्रकाश हुमागाईं, समाजसेवीहरू दिनेश जोशी, प्रेम सापकोटा, बुद्दि डल्लाकोटी, पूर्णनाथ घिमिरे, डिल्ली ढकाल, दिनेश पोखरेललगायतले पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै विश्वभर फैलिएका नेपालीले अन्तर्राष्ट्रिय नेपाली दिवसमार्फत नेपाली हुनुको आत्मबोध गर्नुपर्ने विचार राखे ।
प्रकाशित समय १२:०९ बजे

















