गृहपृष्ठ एनआरएन नागरिकता अपूर्ण भन्दै संसदमा संशोधन प्रस्ताव दर्ता
एनआरएन नागरिकता अपूर्ण भन्दै संसदमा संशोधन प्रस्ताव दर्ता
सरकारले संसदमा प्रस्तुत गरेको नेपाल नागरिकता ऐन २०६३ गैरआवासीय नेपालीलाई प्रदान गरिने एनआरएन नागरिकताका हकमा अपूर्ण रहेको भन्दै संशोधन प्रस्ताव दर्ता भएको छ । संसद सचिवालयका अनुसार सांसदहरु डा. सूर्य पाठक र कृष्णभक्त पोखरेलले शुक्रबार संयुक्त रुपमा सो प्रस्ताव दर्ता गराएका हुन् ।
यसअघि, गैरआवासीय नेपाली संघले सरकारले संघीय संसदमा दर्ता गराएको नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकप्रति नौ बुँदे सुझाव दिएको थियो । अध्यक्ष भवन भट्टद्वारा जारी विज्ञप्तिमा गैरआवासीय नेपालीलाई नागरिकतासम्बन्धी व्यवस्थाका केही बुँदाको स्वागत गरी अपूर्ण बुँदा सच्याउन मागसमेत गरिएको थियो ।
प्रस्तावित विधेयकमा राजनीतिक अधिकारबाहेक आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी गैरआवासीय नेपालीले नागरिकता पाउन सक्नेछ भनिए पनि विधेयकले संविधानको भावनालाई संकुचित गर्न खोजेको संघको आरोप छ ।
संघले नेपाली नागरिकता ऐनले नै विदेशी नागरिकता प्राप्त गरेमा नेपालको नागरिकता स्वत रद्द हुने प्रावधान राखिसकेकोले परित्याग गरेको प्रमाणलाई अनिवार्य पूर्वसर्तका रुपमा राखिनुको औचित्य नभएको जनाएको छ ।
विज्ञप्तिमा गैरआवासीय नेपाली नागरिकतालाई वंशज, जन्मसिद्ध र अंगीकृत जस्तै नेपालको नागरिकतासरह नागरिकताको प्रमाणपत्र उपभोग गर्न पाउने प्रष्ट व्यवस्थाको माग गरिएको छ । संघले विदेशस्थित नेपाली नियोगबाट नागरिकता र राहादनी प्राप्त हुने व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ ।
प्रकाशित समय १७:१८ बजे

















