गृहपृष्ठ नेपाल टी-२० विश्वकपको ग्लोबल छनोटमा पुग्न असफल

नेपाल टी-२० विश्वकपको ग्लोबल छनोटमा पुग्न असफल

नेपाल आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्न असफल भएको छ ।

एसिया क्षेत्र छनोटअन्तर्गतको निर्णायक खेलमा सिंगापुरसँग ८२ रनले पराजित हुँदै सन् २०२० को टी–२० विश्वकप खेल्ने नेपालको सपना समाप्त भएको हो । १ सय ९२ रनको विशाल लक्ष्य पछ्याएको नेपाल १५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९ रनमा समेटियो ।

कप्तान पारस खड्का १२ रनमा आउट भए । अर्का ओपनर ज्ञानेन्द्र मल्लले सर्वाधिक ३९ रन जोडे । शरद भेषवाकर ७ रनमा आउट भए । रोहित पौडेल ५ रनमा पेभेलियन फर्किए । करण केसीले खातै खोल्न सकेनन् । विनोद भण्डारी ९ रनमा आउट भए भने सोमपाल कामी ११ रनमा आउट भए । सन्दीप लामिछाने र अभिनाष बोहोराले पनि रनको खाता खोल्न सकेनन् । बसन्त रेग्मी १ रनमा नटआउट रहे ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९१ रन बनाएको थियो । नेपाली बलरले आज अपेक्षाकृत बलिङ गर्न सकेनन् । अभिनाष बोहोराले ४ विकेट लिनुबाहेक नेपालका अन्य बलर महँगा सावित भए । सिंगापुरका लागि टिम डेभिडले ४३ बलमा ७७ रनको अर्धशतकीय पारी खेले । उनले ३ छक्का र ८ चौका प्रहार गरे । रोहन रंगराजनले ३३ बलमा ४९ रन बनाए । मनप्रित सिंहले ४२ रनको योगदान गरे । ओपनर सुरेन्द्रन चन्द्रमोहनले ८ रन जोडे ।

नेपालका लागि अभिनाष बोहराले ४ ओभरमा ३५ रन खर्चिएर ४ विकेट लिए । करण केसीले २ विकेट लिए । कुवेतविरुद्ध राम्रो बलिङ गरेका बसन्त रेग्मी आज महँगो सावित भए । बसन्तले ४ ओभरमा ५४ रन खर्चिए । तीन ओभर बलिङ गरेका सन्दीप लामिछानेले आजको खेलमा विकेट लिन सकेनन् ।

जितसँगै सिंगापुरले अक्टोबरमा यूएईमा हुने ग्लोबल छनोटमा स्थान बनाएको छ ।

प्रकाशित समय १०:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु