गृहपृष्ठ ‘नेपाल सरकारलाई धेरै-धेरै धन्यवाद’

‘नेपाल सरकारलाई धेरै-धेरै धन्यवाद’

आइतबार बिहानै राजेश गुप्ता नाम गरेका भारतीय नेपाल सरकारलाई धन्यवाद दिँदै खुशी मुद्रामा हिँडिरहेका थिए । उनीमा खुशीको कुनै सीमा थिएन, उनी भन्दै थिए- हामी नेपालमा मजदुरी गरेर खाने भारतीय मानिसलाई यहाँको सरकारले हेर्‍यो, सरकारलाई धेरै-धेरै धन्यवाद ।

उनीजस्तै भारतको लखीमपुर घर भएका घोडाघोडी नगरपालिका- १ सुखडमा डेरा गरी बस्दै आएका गाउँगाउँमा गएर कपडा बेचेर गुजारा चलाउँदै आएका अजीज गुप्ताको परिवार पनि शनिबार राति पाउरोटी खाएर सुतेको थियो । उनीहरूलाई चिन्ता थियो आइतबारदेखि के खाने भनेर । जब बिहान भयो उनले सुने वडा कार्यालयले भारतीय मजदुरलाई खाद्यान्न दिँदैछ भनेर । उनीमा खुशीको सीमा रहेन, उनी बिहानै वडा कार्यालयले खाद्यान्न वितरण गर्ने ठाउँमा आए र खाद्यान्न लिएर फर्कँदै गर्दा उनले पनि नेपाल सरकार र वडा कार्यालयलाई अन्नदाता भएर आएको भनी धन्यवाद दिए ।

आइतबार घोडाघोडी नगरपालिका- १ वडा कार्यालयले विश्वमा माहामारीको रूपमा फैलिएको कोभिड- १९ को सङ्क्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण नेपालमा रहेका दैनिक ज्याला मजदुरी गर्न नपाएर समस्यामा परेका भारतीय मजदुरलाई कार्यालयले खाद्यान्न वितरण गरेपछि यहाँ रहेका भारतीय मजदुरहरूले यस्तो प्रतिक्रिया दिएका हुन् ।

कैलालीको घोडाघोडी नगरपालिका- १ मा रही मजदुरी गरिखाने कोही पनि भोकै नबसुन् भन्ने उद्देश्यले भारतीय नागरिकलाई खाद्यान्न वितरण गरिएको वडाध्यक्ष मनराज शाहीले जानकारी दिए । ‘हामीले यसअघि वडाका २०० भन्दा बढी अतिविपन्न परिवारलाई राहत खाद्यान्न वितरण गर्‍यौँ र अहिले उहाँहरूलाई वितरण गर्‍यौँ,’ वडाध्यक्ष शाहीले भने ।

नेपाल-भारत सिमानामा कैयौँ नेपाली अलपत्र छन् । उनीहरूको व्यवस्थापन त्यहाँ भइरहेको हामीले सुनेका छौँ, त्यस्तै यहाँ रहेका भारतीय दाजुभाइको व्यवस्थापन गर्नु हाम्रो जिम्मेवारी हो भन्ने लागेर आफूहरूले वडा कार्यालयमार्फत खाद्यान्न सामग्री वितरण गरेको अध्यक्ष शाहीले बताए । वडा कार्यालयले आइतबार मजदुरी गरी खाने २५ भारतीय परिवारलाई चामल, दाल, तेल, नुन, भटमासलगायतका खाद्यान्न सामग्री वितरण गरेको हो । (रासस)

प्रकाशित समय १२:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु