गृहपृष्ठ नेपालको आर्थिक वृद्धिदर १.५ देखि २.८ प्रतिशतबीचमा : विश्व बैंक

नेपालको आर्थिक वृद्धिदर १.५ देखि २.८ प्रतिशतबीचमा : विश्व बैंक

Growth_NewsKarobar

विश्व बैंकले चालू आर्थिक वर्षमा कोरोना भाइरस महामारी (कोभिड–१९) का कारणले नेपालको आर्थिक वृद्धिर १.५ देखि २.८ प्रतिशतको बीचमा रहने बताएको छ ।

यो अर्को बहुपक्षीय विकास संस्था एसियाली विकास बैंक (एडीबी)को अनुमानभन्दा निकै कम हो । एडीबीले भने यस वर्ष ४.३ देखि ५.३ प्रतिशतको बीचमा आर्थिक वृद्धिदर रहने बताएको थियो ।

विश्व बैंकद्वारा आइतबार सार्वजनिक ‘साउथ एसिया इकोनोमिक फोकस’मा यो वर्ष कम्तिमा १.५ देखि २.८ प्रतिशतका बीचमा रहने नेपालको आर्थिक वृद्धिदर सन् २०२१ मा अझ बिग्रेर १.४ देखि २.९ प्रतिशतको बीचमा रहने प्रक्षेपण गरिएको छ ।

सन् २०२२ मा भने अर्थतन्त्रमा केही पुनर्बहाली भइ २.७ देखि ३.६ प्रतिशतका बीचमा रहने बैंकले जनाएको छ ।

‘नेपालको जनसंख्या वृद्धिदर १.१ प्रतिशत मान्दा लगातार दुई आर्थिक वर्षमा प्रतिव्यक्ति आयमा कमी आउने छ,’ बैंकले भनेको छ ।

रेमिट्यान्समा आउने कमी, महामारीका कारण सीमा क्षेत्रमा पुगेको अवरोध, व्यापारमा आउने संकुचन र अन्य आर्थिक गतिविधिमा पार्ने प्रभावका कारण नेपालको अर्थतन्त्र खुम्चने बैंकको भनाइ छ ।  बैंकले यस महामारीको कारण सेवा र औद्योगिक उत्पादनमा थप गिरावट वा संकुचन ल्याइ थप प्रभाव पार्ने बताएको छ ।

कोभिड-१९ को संक्रमण रोकथाम र उपचारमा हुने खर्च, स्वास्थ्य सुविधा बढाउन हुने खर्च, उच्च तलबमान, सामाजिक सुरक्षाा र स्थानीय तहहरूले महामारी नियन्त्रणका लागि खर्च गर्नका लागि तिनलाई दिइने  वित्तीय स्थानान्तरणका कारण बजेट घाटा वृद्धि भइ ७.३ प्रतिशत पुग्ने प्रतिवेदनमा उल्लेख छ । यता सुस्त आर्थिक वृद्धि र आयात संकुचन हुने कारणले सरकारकाे राजस्व भने संकुचित हुने बैंकले जनाएको छ ।

बैंकका अनुसार सीमित स्रोत परिचालन क्षमताका कारण यस वर्ष नेपालको खुद ऋण कुल गार्हस्थ्य उत्पादन (जिडीपी)को ३५ प्रतिशत पुग्नेछ ।

पर्यटनमा आश्रित दक्षिण एसियाली अर्थतन्त्रहरूमा यसको अझ बढी गम्भीर असर पार्ने ठहर बैंकको छ । कोभिड–१९ को प्रभावका कारण माल्दिभ्सको अर्थतन्त्र १३ देखि कम्तिमा ८.५ प्रतिशतसम्मले ऋणात्मक हुने प्रतिवेदनमा उल्लेख छ ।

बैंकले वर्ल्ड ट्राभल एन्ड टुरिजम काउन्सिल (डब्लूटीटीसी)/अक्सफोर्ड इकोनोमिक्सको तथ्यांक उद्धृत गर्दै पर्यटन तथा यात्राले नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा ७.९ प्रतिशत हिस्सा ओगटेको उल्लेख गरेको छ । माल्दिम्भमा यो अनुपात ६६.४ प्रतिशत भएकाले सर्वाधिक असर पार्ने प्रक्षेपण गरिएको हो ।

बैंकले कोभिड–१९को प्रकोपका कारण आर्थिक गतिविधि ठप्प भएको, व्यापारमा गिरावट आएको, वित्तीय प्रणालीमा संकुचन बढेको कारण क्षेत्रका सबै आठै देशले तीव्र आर्थिक मन्दी बेहोर्नु पर्ने उल्लेख गरेको छ ।

बैंकले यस वर्ष दक्षिण एसियाको समग्र वृद्धिदर १.८ देखि २.८ प्रतिशतका बीचमा झर्ने बताएको छ ।

 

प्रकाशित समय ११:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु