गृहपृष्ठ ‘गौरा’जस्तो भएन गौरा पर्व
‘गौरा’जस्तो भएन गौरा पर्व
‘धनगढी सेटकी चेली सटपाइन्ट कसेकी ।
घरवार भएकी हौ कि माइतमै बसेकी ।।’
(धनगढीका धनी परिवारकी छोरी सट पाइन्टको पहिरनमा देखियौ, बिवाह भएकी हौ कि माइतमै बसिरहेकी छ्यौ)
सुदूरपश्चिम प्रदेशको मौलिक र सांस्कृतिक महत्व बोकेको गौरा पर्व मनाउने क्रममा महिला-पुरुषको छुट्टा छुट्टै समूहद्वारा प्रस्तुत देउडा गीतको बोलमा सवाल जवाफ गरेर खेल खेल्दा सिर्जना हुने रोमाञ्चक माहोललाई यो वर्ष कोरोनाको कहरले रोकिदिएको छ ।
कोरोना संक्रमण बढ्ने त्रासले यो वर्षको गौरा पर्वमा देउडा खेल खेलेर एक आपसमा घोचपेच र तिखो व्यंग्य गर्दै रमाउन पाउने अवसर नपाउँदा खेलका शौकीन मात्र होइन, खेल हेरेर मच्ची मच्ची साथ दिने सर्वसाधारण दर्शकको मन समेत निराश भएका छन् । सामाजिक विकृति, विसंगति र कुशासनविरुद्ध देउडाका माध्यमले तिखो व्यंग्य गर्दै सामाजलाई सही बाटोमा डोर्याउन यस्ता गीतले मद्दत पुर्याउने गरेको जानकारहरु बताउँछन् ।
कोरोनाको कारण कहिल्यै अनुभूति नगरिएको जस्तो एक खालको सन्नाटा छाइरहँदा गौराको रौनकता पनि हराएको स्थानीयवासी डिल्लीराज अवस्थीले बताए । ‘यतिवेला सुदूरपश्चिम प्रदेशका गाउँ बस्तीहरु देउडा, चैत, धमारीजस्ता गीतको रौनकले छपक्क छोपिएका हुन्थे,’ उनले भने, ‘कोरोनाले सबैको रहर र उत्साहलाई मेटाइदिएको छ ।’
यो पर्वमा विशेषगरी देउडाका अलावा देवीदेवताका गाथा र महिमा दर्शाउने खालका विभिन्न गीत गाउने गरिएको गौरा गीतका गितेरु (गीतकार) लेखराज ओझाले बताए । ‘‘कोरोना संक्रमणको डरले यो वर्ष देउडा खेल्ने वातावरण नहुँदा मन खल्लो भएको छ,’ उनले भने, ‘हाम्रा मौलिक परम्परा, धर्म र संस्कृतिमा समेत कोरोनाको प्रतिकूल प्रभाव परेको छ ।’ यो पर्वका बेला खेलिने चैत, धमारी, फागलगायत खेलले इष्टदेव अर्थात कूल देउताको महिमा दर्शाउने र देउडाका गीतले समाजका विकृति विसंगतिविरुद्ध तिखो व्यंग्य गर्ने, आफ्नो गाउँ-ठाउँका प्राकृतिक र धार्मिक स्थलको महत्वलाई पनि उजागर गर्ने गरेको उहाँको भनाइ छ ।
कोरोनाको कहरका बीच सुदूरपश्चिम प्रदेशका गाउँ वस्तीमा मंगलबार सप्तमी तिथीमा धार्मिक अनुष्ठानका साथ गौरा भित्र्याइएको छ । महिलाले दिनभरि व्रत बसेर आफ्नो परिवारको सुख, समृद्धि र चिरायूको कामना गर्दै गौरा राख्ने ठाउँमा महेश्वरको पूजा गरेकी छन् । पूजाका अवसरमा सात गाँठो पारिएको दुबोसहितको कण्ठसूत्र (दुबोधागो) पञ्चगव्य अभिषेक गरी गौराको खुट्टामा राख्ने गरिन्छ ।
आज अष्टमीका दिन रंगीचंगी कपडामा सजिएका महिलाले गौरा राख्ने ठाउँमा पञ्च वनस्पतिले बनाइएको गौराको प्रतिमालाई रेशमी कपडाले सिँगारेर महेश्वरको प्रतिमासँगै बाहिर ल्याएर आसनमा राखी आठ अध्याय र आठ खण्ड भएको अठेबाली परम्परागत फाग, गौराको गीति कथा गाउँदै पूजा गरेर गौरा र महेश्वरलाई शिरमा राखी नाँच्ने गर्दछन् । यसै अवसरमा देउडा र ठाडो खेल खेलेर रमाइलो गरिन्छ ।

विगतमा सामूहिक भेला भई गौरा भित्राउने चलन रहेपनि कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रदेशका कैलाली र कञ्चनपुर लगायतका जिल्लामा गरिएको निषेधाज्ञाका कारण महिलाले घर परिवारका सदस्यहरुसँग मिलेर गौरा भित्राएका छन् । गौरा पर्वको महत्वपूर्ण दिन अष्ठमीमा महिलाले बिहानै खोला तलाउमा स्नान गरी घाँसबाट निर्मित गौरा देवीको प्रतिमा र काठको महेश्वरको प्रतिमालाई गौरा घरबाट बाहिर आँगनमा ल्याई श्रृंगार गरी सगुन गीत गाउँदै टाउकामा राखेर महिलाले नाच्ने गर्दछन् ।
अठेबालीका दिन आठ अध्यायमा महेश्वर र गौरा गीतलाई महिलाले गाउने हुनाले यसलाई अठेबाली भन्ने गरिएको सुदूरपश्चिमेली संस्कृतिका जानकार मानसिंह भण्डारी बताउँछन् । अठेवाली गीत गाउदा महिलाहरुले एकले अर्काको कान्छी औंला अठ्याएर समाती गोल घेरा बनाई परम्परागत तरिकाले नृत्य र गीत प्रस्तुत गर्ने गर्दछन् ।
प्रदेश सरकारले गौरा पर्वको मुख्य दिन आज सार्वजनिक विदा दिएको छ । स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्दै गौरा पर्वमा भीडभाड नगरी घरपरिवारका सदस्य बीच सुरक्षाका मापदण्ड अपनाएर मानाउन आग्रह गरेको छ । भीडभाड गर्न नपाइने भएपछि कतिपय ठाउँमा यो पर्वमा पुजारी विना नै गौरादेवी र महेश्वरको पूजा गर्नुपरेको श्रद्धालु महिला बताउँछन् ।
‘कोरोनाका कारण सबै ठाउँमा पुजारी पाउन पनि असम्भव देखिएको छ,’ धनगढी उपमहानगरपालिका- १३ की सरस्वती भट्टले भनिन्, ‘पुजारी विना नै गौरा र महेश्वरको पूजा गरिरहेका छौं ।’ पूजा गर्दा भीडभाड गर्न नपाइने भएपछि सदियौं देखिको सांस्कृतिक परम्परा कायम राख्नका लागि भएपनि गौरा भित्र्याएर पूजा गर्नुपरेको महिलाको भनाइ छ । ‘विगतका वर्षहरुमा घर तथा मन्दिरमा गौराको बेग्लै रौनक हुन्थ्यो,’ स्थानीयवासी पार्वती जोशीले भनिन्, ‘यो वर्ष कोरोनाले गर्दा धक फुकाएर पर्व मनाउन पाइरहेका छैनौं ।’

भदौ शुक्ल पक्षको पञ्चमीका दिन महिलाले बिहानै स्नान गरी घरघरमा बिरुडा राखेपछि यो पर्वको सुरुवात भएको मानिन्छ । घरको एक कोठामा गाईको गोबरले लिपेर तामा र पितलका भाँडाको बाहिरपट्टि पाँच ठाउँमा गाईको गोबर र दुबो लगाई टीका र अक्षताले सिंगारेर एवं धुप बत्ती बालेर पञ्चअन्न गहुँ, मास, गहत, गोरस र कलौ भिजाएर राखी भगवान महेश्वरको आह्वान गरी बिरुडा राख्ने कार्य गरिन्छ । पूजाको काम सकिएपछि बिरुडा लाई छरछिमेकमा गौराको प्रसादको रुपमा बाँड्ने प्रचलन छ । यसलाई पकाएर खाने गर्दा पेट सम्बन्धी रोग निर्मूल हुने जनविश्वास छ ।
हिमालयकी छोरी पार्वतीले भगवान शिवलाई पति पाउन गौरा देवीको निराहार व्रत बसेको किंवदन्तीका आधारमा गौरा मनाउने गरिएको बताइएको छ । पार्वतीले शिव पति पाएझैं अविवाहित युवती शिव जस्तै पति पाउन भनी व्रत बस्ने गर्दछन् ।
गौरा पर्वमा देउडा गीतका माध्यमबाट एक अर्काका दुःखसुख बाँड्नुका साथै माया प्रेम बाड्ने गरिन्छ । अनुकूल तिथी हेरी विसर्जन गरिने यो पर्वले मानिसमा धार्मिक आस्था, आपसी सद्भाव बढाउन मद्दत पुर्याउने मात्र नभई यस वर्षमा व्रत बसेर गौरा महेश्वरको पूजाआजा गर्नाले सुख, शान्ति प्राप्त हुने, ईष्ट र कूलदेवता खुशी हुन्छन् भन्ने जनविश्वास छ । पारिवारिक मिलन, सामाजिक सद्भाव र एकअर्कासँग भेटभाट गर्ने पर्वको रुपमा समेत गौरा पर्वलाई लिइने गरिन्छ । (रासस)
प्रकाशित समय १५:५४ बजे

















