गृहपृष्ठ त्रिविका विद्यार्थीलाई अनलाइन कक्षामा सहभागी हुन अनुरोध
त्रिविका विद्यार्थीलाई अनलाइन कक्षामा सहभागी हुन अनुरोध
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना विद्यार्थीलाई अनलाइन पठनपाठनका लागि सहभागी हुन आग्रह गरेको छ । त्रिविका शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालले कोरोना भाइरस (कोभिड- १९) का कारणले कक्षा कोठामा गई पठनपाठन गर्न सम्भव नहुँदा भर्चुअल माध्यमबाट पढाइ भइरहेकाले विद्यार्थीले आफू अध्ययनरत विभाग/स्कूल/क्याम्पसमा सम्पर्क राखी पठनपाठनमा सहभागी हुन आग्रह गरेका हुन् ।
उनले आफ्नो सम्पर्कमा त्रिविमा अध्ययनरत कुनै विद्यार्थी भएमा सम्पूर्ण अभिभावक, स्थानीय सरकारका प्रतिनिधि, स्थानीय प्रशासन, समाजसेवी, शिक्षाविद् तथा अन्य सबै सरोकारवालालाई समेत पठनपाठनमा विद्यार्थी सहभागी गराउन अनुरोध गरेका छन् । ‘त्रिविले कोभिड- १९ को संक्रमण नियन्त्रणमा लिने स्थिति नरहेको परिप्रेक्ष्यलाई आँकलन गरी गत चैत्रको तेस्रो सातादेखि नै पठनपाठनको वैकल्पिक विधिबाट कक्षाहरू सञ्चालन गर्न आफ्ना सबै शिक्षक, कर्मचारी तथा अध्ययनरत विद्यार्थीहरूको इमेलको ठेगाना बनाई अनलाइन विधिबाट पठनपाठन सञ्चालन गरिरहेको छ,’ शिक्षाध्यक्ष भुसालले भने ।
हालसम्म पनि कतिपय विद्यार्थीहरू आफू अध्ययनरत विभाग तथा क्याम्पसको सम्पर्कमा नआएको जानकारी प्राप्त हुन आएको हुँदा पठनपाठन तथा स्थगन गरिएको परीक्षा व्यवस्थापन गर्न समस्या भएको उनकाे भनाइ छ । चाँडोभन्दा चाँडो विद्यार्थीलाई पठनपाठनमा सहभागी हुन शिक्षाध्यक्ष भुसालकाे अनुरोध छ ।
त्रिविका सम्पूर्ण विभाग, स्कूल, क्याम्पस प्रशासन, डीन कार्यालय समेतलाई विद्यार्थीलाई सम्पर्कमा ल्याउने कार्यमा तदारुकता साथ लागि पर्न र विद्यार्थीलाई सम्पर्कका लागि सहज वातावरण मिलाउनु समेत अनुरोध गरिएको छ । त्रिविले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड- १९ नेपालमा पनि प्रवेश गरेसँगै यसले जनस्वास्थ्यमा पार्ने असरलाई मध्यनजर राखी गत चैत्र ६ गतेदेखि त्रिविमा सञ्चालन भइरहेका सम्पूर्ण पठनपाठन तथा परीक्षाहरू स्थगन गरिएको छ । (रासस)
प्रकाशित समय १५:२६ बजे

















