गृहपृष्ठ सरकार दिशाविहीन र योजनाविहीन रहेको कांग्रेसको आरोप

सरकार दिशाविहीन र योजनाविहीन रहेको कांग्रेसको आरोप

कोरोना महामारीसँग जुध्न सरकारलाई १३ बुँदे सुझाव

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पार्टीले कोरोना संक्रमण रोक्ने उपाय र यसबाट उत्पन्न परिस्थितिलाई सम्बोधन गर्न सरकारले चाल्नु पर्ने कदमहरुका बारेमा निरन्तर खबरदारी गर्दै आएको छ । यसै क्रममा कांग्रेसद्वारा गठित कोभिड- १९ अनुगमन समितिको तर्फबाट देशभरिको अवस्थाको अनुगमनका आधारमा प्राप्त निष्कर्षहरु सार्वजनिक गर्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

अहिलेसम्म सरकार दिशाविहीन र योजनाविहीन रहेको कांग्रेसको आरोप छ । यस अवस्थामा कोरोना संक्रमणलाई नियन्त्रण गरी नागरिक जीवन सहज पार्ने ठोस अल्पकाली र दीर्घकालीन योजना सार्वजनिक गर्न कांग्रेसले सरकारसमक्ष माग गरेकाे छ ।

सरकारले लकडाउन गर्ने, खोल्ने, फेरी बन्द गर्नेबाहेक कोरोना संक्रमण रोक्ने र लकडाउनका कारण आर्थिक सामाजिक असरहरुलाई कम गर्न कुनै ठोस योजना ल्याउन नसकेको प्रतिपक्षी दलको ठहर छ । सरकारकै अकर्मण्यता र संवेदनहीनताका कारण संक्रमण नियन्त्रणभन्दा बाहिर गइरहेकाे र नागरिक जीवन अत्यन्त संकटमा फसेको कांग्रेसले औंल्याएकाे छ ।

सरकारको गम्भीर ध्यानाकर्षणका लागि कांग्रेसको बुँदागत सुझाव :

(१) अहिलेसम्म सरकार दिशाविहीन र योजनाविहीन छ । यस अवस्थामा कोरोना संक्रमणलाई नियन्त्रण गरी नागरिक जीवन सहज पार्ने ठोस अल्पकालीन र दीर्घकालीन योजना सार्वजनिक गरियोस् ।

(२) कोरोना संक्रमण फैलदै गएको वर्तमान अवस्थालाई ध्यानमा राखी हरेक अस्पतालमा कोरोना संक्रमित बिरामी राख्ने कुरा व्यवहारिक नभएकोले तत्काल आवश्यक संख्यामा निजी अस्पतालहरुलाई कोरोना अस्पताल घोषणा गरियोस् ।

(३) अस्पतालहरुमा आवश्यक अक्सिजनको पूर्ण सुनिश्चितता र भेन्टिलेटरको तत्काल व्यवस्था गरियोस् ।

(४) स्वास्थ्यकर्मीहरुलाई बिमाको व्यवस्था तत्काल कार्यान्वयन गर्नुको साथै कोरोना जोखिम भत्ताको व्यवस्था गरियोस् ।

(५) चिकित्सक तथा स्वास्थ्यकर्मीहरु माथि हुने गरेको दुर्व्यवहार र भौतिक आक्रमण रोक्ने समुचित व्यवस्था तत्काल सुनिश्चित गरियोस् । साथै संक्रमित चिकित्सक र स्वास्थ्यकर्मीहरुको उद्धार र उपचारको व्यवस्था सरकारले गरोस् ।

(६) संक्रमणको सर्भिलेन्स र ट्रेसिङको आधारमा संक्रमणको सम्भावना ज्यादा भएका स्थानहरुमा पीसीआर परिक्षणलाई व्यापक बनाइयोस् ।

(७) उपचारको क्रममा उपयोगी औषधीहरुलाई सुलभ मूल्यमा तत्काल सहज उपलब्धता सुनिश्चित गरियोस् ।

(८) स्थानीय र प्रदेश तहमा स्वास्थ्यकर्मीहरुको कोरोना संक्रमण व्यवस्थापकीय तालिमलाई विस्तार गरियोस् ।

(९) विदेशमा अलपत्र श्रमिकहरुलाई तत्काल नियमित उडानमा स्वदेश फिर्ता ल्याउने व्यवस्था सरकारले गरोस् ।

(१०) हवाई मार्ग तथा स्थल मार्गबाट स्वदेश फर्कने नेपालीहरुलाई व्यवस्थित आइसोलेसन र क्वारेन्टिनको व्यवस्था मिलाइयोस् ।

(११) देशभर आवश्यक मात्रामा आइसोलेसन केन्द्र र क्वारेन्टिन केन्द्रहरु स्थानीय सरकारको सहकार्यमा तत्काल व्यवस्था मिलाइयोस् ।

(१२) कोरोना संक्रमण भएकाहरुलाई लक्षणको स्वरुप हेरी आइसोलेसनमा राख्ने वा उपचारमा राख्ने निर्णय स्वास्थ्य मन्त्रालयले गर्ने केन्द्रीकृत र अव्यवहारिक निर्णय तत्काल फिर्ता गरी सम्बन्धित अस्पतालहरुले निर्णय गर्ने व्यवस्था गरियोस् ।

(१३) शैक्षिक वर्ष खेर नजाने गरी उच्च शिक्षा तहको परिक्षा वैकल्पिक विधि अपनाएर भए पनि सञ्चालन गरियोस् ।

प्रकाशित समय १६:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु