गृहपृष्ठ मासिक १५ हजार रूपैयाँ पाएर पनि दुई वर्षदेखि तिरेनन् सांसदले घरभाडा

मासिक १५ हजार रूपैयाँ पाएर पनि दुई वर्षदेखि तिरेनन् सांसदले घरभाडा

सांसद कामी भन्छन् : साउन महिनामा जिससलाई कोठाभाडा लैजानु भनेको हिसाब मिल्दैन भन्नुभयो

रुकुमपश्चिम जिल्ला नेकपाबाट निर्वाचित कर्णाली प्रदेश सभामा सांसद रातो कामी सरकारी आवासमा बस्दै आएका छन् । उनले प्रदेश सभाबाट मासिक १५ हजारका दरले घरभाडा वापत्को रकम बुझ्दै पनि आएका छन् । तर जिल्ला समन्वय समिति सुर्खेतसँग सम्झौता गरी मासिक तीन हजार तिर्ने गरी चारकोठे सरकारी भवनमा बस्दै आएका उनले दुई वर्षदेखि भाडा भने बुझाएका छैनन् ।

२०७५ साल मंसिर महिनादेखि हालसम्म उनले जिल्ला समन्वय समिति सुर्खेतलाई दिनुपर्ने महिनाको तीन हजार भाडा अहिलेसम्म बुझाएका छैनन् । उता सांसद रातो कामीले असार महिनामा मात्रै भाडा दिनुपर्ने भएको र आफू जिल्ला बाहिर गएकोले तिर्न नभ्याएको बताए । ‘साउन महिनामा लैजानु भनेको हिसाब मिल्दैन भन्नुभयो,’ उनले भने, ‘अब सुर्खेत जिल्ला आएपछि तिर्नुपर्ला ।’ नियतबस आफूले भाडा नबुझाएको भन्ने हल्ला मात्रै भएको उनले बताए ।

जिल्ला समन्वय समिति सुर्खेत मातहतमा आवासका जम्मा १९ वटा भवन वीरेन्द्रनगरमा भएको जिल्ला समन्वय अधिकारी दुर्गाप्रसाद चालिसेले बताए । ‘जसमध्ये १६ वटा भाडामा दिएका छन् । सातवटा भवन समन्वयकै कर्मचारीले निःशुल्क प्रयोग गरेको र अन्य ९ वटा भवन भने मासिक तीन हजारका दरले भाडामा दिएको हो ।’ उनले भने ।

सबै भवनहरु चारकोठे भएको र धेरै पुराना भवन भएकोले थोरै भाडादरमा दिइएको उनले सुनाए । अन्य भवनहरुको भाडा नियमित आए पनि सांसद रातो कामीले भने २०७५ मंसिर महिनादेखि भाडा नबुझाएको उनले बताए । अधिकारी चालिसेका उनका अनुसार कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्तिलाई समितिको निर्णयअनुसार बस्न दिने गरको भए पनि अब खाली हुने आवासको लागि भने बढाबढको सूचना निकाल्ने तयारी भएको छ ।

प्रकाशित समय १२:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु