गृहपृष्ठ महाकाली नदी माथिको झोलुंगे पुलमा आवागमन बन्द

महाकाली नदी माथिको झोलुंगे पुलमा आवागमन बन्द

स्वदेश फर्कँदै गरेका नेपालीहरू महाकाली पुलमा ।

कञ्चनपुरको महाकाली नदी माथिको मल्टीस्पान झोलुंगे पुलको आवागमन आज बन्द गरिएको छ । पुल मर्मतका लागि महाकाली नगरपालिकाले पुलको आवागमन बन्द गरेको हो । आज बिहान ११ः३० देखि अपराह्न ३ बजे सम्मका लागि पुल भएर आवागमन बन्द गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीले जानकारी दिए ।

‘अत्यधिक भारका कारण पुलका नट बोल्ट खुस्केका, डेकहरु टुटेका कारण पुलको मर्मत नहुन्जेल सम्मका लागि बन्द गरिएको छ,’ उनले भने, ‘पुल मर्मतको कार्य पूरा नहुन्जेल आवागमन नगरिदिन समेत आग्रह गरेका छौं ।’ गतवर्ष मात्रै जीर्ण पुलको सुदूरपश्चिम सरकारले ६० लाख रूपैयाँ खर्चेर ठेक्का प्रक्रियामार्फत मर्मत गरेको थियो ।

डडेल्धुराको खाम्पाचे/देबभूमि कन्स्ट्रक्सन तथा क्वालिटी सप्लायर्श अमरगढी–५ जेभीले पुल मर्मतको ठेक्का लिएको थियो । पुल मर्मत गरेको एक वर्ष नपुग्दै पुनः मर्मत गर्नुपर्ने अवस्थामा पुगेको छ । महाकाली नदी पारीको माहाकाली नगरपालिका जोड्ने डेढ मिटर चौडाइको पुलको लम्बाइ एक हजार ४५२ मिटर छ । नेपालमा रहेका सबै प्रकारका पुलमध्ये यो पुल नै सबैभन्दा लामो पुल हो । विसं २०६१ सालमा ९ करोड ४२ लाख ४१ हजार रूपैयाँमा पुल निर्माण गरिएको थियो । सो पुल एसियामै लामो झोलुंगे पुलका रुपमा परिचित छ । पुल ३२.७ मिटरका ७ ओटा अग्ला टावरमा ठड्याइएको छ । (रासस)

प्रकाशित समय १३:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु