गृहपृष्ठ भक्तपुर कार दुर्घटना : घाइते युवतीको अवस्था देखेपछि फरार भएका थिए ३ युवक

भक्तपुर कार दुर्घटना : घाइते युवतीको अवस्था देखेपछि फरार भएका थिए ३ युवक

दुर्घटनाग्रस्त कार ।

मध्यपुरथिमि नगरपालिका- ३, कौशलटारको छ लेन सडकमा भएको दुर्घटनामा एक युवतीको मृत्यु भएको छ । अन्य तीन सामान्य घाइते भएका छन् । दुर्घटनामा कारमा सवार काठमाडौं महानगरपालिका- ४, बूम्रबराही पीपलबोट बस्ने ३० वर्षीया रिया श्रेष्ठको मृत्यु भएको हो ।

भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा. ८ च ४७५६ नम्बरको कार आज बिहान १२:४५ बजे कौशलटारको बीच सडकको फलामे रेलिङ भाँच्दै सडक छेउमा रहेको सिमेन्टको खम्बामा ठोकिई पल्टिएको थियो । चार जना सवार उक्त कार अनियन्त्रित भई दुर्घटना भएको प्रहरी परिसर भक्तपुरका डीएसपी दीपक गिरीले जानकारी दिए । उनका अनुसार घटनाबारे जानकारी पाएलगत्तै घटनास्थल पुगेर घाइते श्रेष्ठलाई उपचारका लागि मध्यपुर अस्पताल पुर्‍याइएको थियो । घाइते श्रेष्ठको अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत्यु भइसकेको जनाएका थिए ।

घटनापछि फरार रहेका कारका चालक मध्यपुरथिमि- १, लोकन्थली बस्ने २६ वर्षीय रञ्जित कार्कीलाई प्रहरीले बिहान नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको डीएसपी गिरीले जानकारी दिए । सोही कारमा सवार मध्यपुरथिमि- ५, राधेराधे बस्ने २६ वर्षीय विजय देउजा र सूर्यविनायक नगरपालिका- ४, दधिकोट गाम्चा बस्ने २७ वर्षीय सुदीप थापालाई घटनाबारे प्रहरीले सोधपुछ गरिरहेको छ ।

दुर्घटनापछि कारमा सवार ती तीनैजना घाइते युवतीको अवस्था हेरेर मृत्यु भएको भन्दै छाडेर फरार भएका थिए । उनीहरूको खोजी गर्ने क्रममा बिहानै नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाइएको छ । दुर्घटनामा कार भने पूर्ण क्षतिग्रस्त भएको छ ।

प्रकाशित समय १२:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु