गृहपृष्ठ उखुबाट आजित भएका किसान आँपखेतीतर्फ
उखुबाट आजित भएका किसान आँपखेतीतर्फ
फाइल तस्बिर
धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरका अधिकांश किसानहरुले उखुखेती गर्न छोडेका छन् । विगतमा १५ देखि २० बिगाहामा उखु खेती गर्दै आएका किसान रामउदगार महतोले उखुमा लगानीअनुसारको प्रतिफल नपाउँदा आँपखेती सुरु गरेको बताए । उनले भने, ‘हाम्रो खेतमा सिंचाई अभाव छ । उखुखेती गर्दा वर्षमा दुई पटक पानीको आवश्यकता पर्छ । तर, सिंचाई अभावले गर्दा उखुखेती राम्रो हुन सकेन । खेतीमा लगाएको लगानीसमेत उपर हुन मुस्किल भएपछि अहिले खेतमा आँप रोपेको बताए ।
बटेश्वर गाउँपालिका १ बस्ने कमल सिंहले उखुमा लगानी लगाएर प्रतिफल पाउन निकै अहिले मुस्किल भएको बताए । समयमा मलखाद्य पाइदैन, भने जस्तो सिंचाईको सुविधा नभएपछि आफ्नो सबै खेतमा आँपकै बोट लगाएको उनले बताए । अधिकाशं किसानले उखु उत्पादन छोडेर आँपको बोट लगाएपछि छिमेकी किसानहरुले समेत खेतमा आँपकै बोट लगाउनुपर्ने बाध्यतासमेत भएको बताए । वर्षेनी हजारौं टन उखु उत्पादन हुने यस वडामा अहिले मुस्किलले ५/१० जना किसानहरुले सख्खरका लागि मात्रै उखुखेती गर्दै आएका छन् ।
सोही ठाउँका उदयकान्त महतोले विगतमा उखुखेतीका लागि प्रसिद्ध मानिएको यस ठाउँका किसानहरु अहिले उखुखेती गर्न छोडेको बताए । चिनी मिललाई उखु बेच्दा वर्षौसम्म रकम नपाउने, लगानीअनुसारको किसानलाई आम्दानी नहुने र सिंचाई अभावले गर्दा किसानहरुले खेती छोडेको बताए । आफ्नो १५ देखि २० विगाहामा हुँदै आएको उखुखेती अहिले २/४ कठ्ठामा सिमित गरेको र बाँकी खेतमा आँपका बोट लगाएको बताए ।
किसानहरुलाई नगदे बालीको रुपमा आँपबाट आम्दानी हुन थालेपछि उखुखेती छोडेर आँप खेतीतर्फ किसानहरु आकर्षित भएका हुन् । आँप खेती गर्दा वर्षमा एक चोटी गोडमेल गर्दासमेत हुने भएकाले आँप खेतीतर्फ किसानहरु आकर्षित भएको उदयकान्तले बताए । स्थानीय शिक्षक रामवृक्ष महतोले आफ्नो भएजति सबै खेतमा आँपको बोट लगाएको उनले बताए । शिक्षक रामवृक्षका अनुसार उखु उत्पादन गर्न निकै मेहनत लाग्ने, काम गर्ने मान्छेको अभाव भइरहने, मजदुर पाउन पनि निकै समस्या भइरहने हुँदा किसानहरुका लागि आँपखेती सजिलो भएको छ । ‘थोरै लगानीमा राम्रो प्रतिफल हुने भएपछि किसानहरु आँप खेतीतर्फ उन्मुख भएका हुन् ।’ उनले भने ।
आँप खेतीमा बटेश्वर गाउँपालिका–१ का सबै किसानले आँपको पकेट क्षेत्र घोषणा गरी सरकारले ‘पानीको आवश्यकता र मलखाद्यको लागि विशेष पहल’ गर्नुपर्ने शिक्षक रामवृक्षले बताए । अहिले सिंचाई अभावकै कारणले बोट विरुवाले लवण शक्ति र पौष्टिक तत्वको अभावले एक वर्ष विराएर फल र फूल लाग्न थालेकाले गर्दा यहाँ आँपखेतीतर्फ आकर्षित भएका किसानहरुको आत्मबल र साख जोगाउन सिंचाई सुविधाको साथै कोल्ड स्टोरको व्यवस्थापन गर्नुपर्ने स्थानीय माग छ ।
प्रकाशित समय ०७:२१ बजे

















