गृहपृष्ठ प्राविधिक शिक्षालयका लागि ११ जनाले दिए ६७ रोपनी जग्गा

प्राविधिक शिक्षालयका लागि ११ जनाले दिए ६७ रोपनी जग्गा

jagga-newskarobar सांकेतिक तस्बिर

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा स्थापना गर्न लागिएको बहुद्देश्यीय प्राविधिक शिक्षालयका लागि ११ जग्गाधनीले ६७ रोपनी ११ आना दुई पैसा दुई दाम जग्गा निःशुल्क प्रदान गरका छन् । प्रदेश १ मा पर्ने सबै जिल्लालाई समेट्ने गरी स्थापना गर्न लागिएको प्राविधिक शिक्षालयका लागि बुधबार नुनथलाका ११ जनाले उक्त जग्गा उपलब्ध गराएका हुन् ।

मध्यपहाडी लोकमार्गमा पर्ने नुनथलाको महुरेमा स्थापना गर्न लागिएको शिक्षालयका लागि उत्तरबहादुर राईले १३ रोपनी एक आना दुई पैसा तीन दाम, गंगादेवी राईले १० रोपनी १४ आना एक पैसा, अर्थबहादुर राईले सात रोपनी १२ आना एक पैसा, भद्रबुर राईले ६ रोपनी दुई आना दुई पैसा दुई दाम, कुमारसिंह राईले पाँच रोपनी १३ आना दुई पैसा दुई दाम प्रदान गरेका हुन् । त्यस्तै, प्रेम साम्पाङ राईले पाँच रोपनी सात आना एक पैसा, हर्कबहादुर राईले चार रोपनी सात आना, देवन राईले चार रोपनी तीन आना, दीपककुमार राईले चार रोपनी चार आना दुई पैसा दुई दाम, पदम राईले चार रोपनी पाँच आना एक पैसा दुई दाम र तीनजित राईले एक रोपनी आठ आना जग्गा निःशुल्क उपलब्ध गराएको प्राविधिक शिक्षालयका अभियानकर्ता हेमविक्रम राईले जानकारी दिए ।

जग्गादाताले आफ्नो नाममा रहेको जग्गा बुधबार जिल्ला मालपोत कार्यालयमा आएर शिक्षालयको नाममा रजिष्ट्रेसन पास गरिदिएका छन् । जग्गादाताले बुधबार आयोजित पत्रकार सम्मेलनमा उक्त शिक्षालयको नाम ‘महुरेगढी बहुद्देश्यीय प्राविधिक शिक्षालय’ राखिनुपर्ने माग गरेका छन् ।

पत्रकार सम्मेलनमा सहभागी प्रदेशसभा सदस्य एवं नेकपाका केन्द्रीय सदस्य रामकुमार राई (पासाङ), पूर्वसांसद टंक राई, पूर्वसभासद् दुर्गाजयन्ती राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजाल, उपप्रमुख विणुदेवी राईलगायतले स्थानीयवासीको जनभावनाअनुसार नै शिक्षालयको नामाकरण हुने बताए ।

शिक्षामन्त्रालयको आर्थिक सहयोगमा गत वर्षबाटै स्थापनाको पहल थालिएको उक्त शिक्षालयमा यस वर्ष डिजाइन र प्राविधिक मूल्यांकनको काम सुरु हुने पत्रकार सम्मेलनमा सहभागी प्राविधिक शिक्षा व्यावसायिक तालिम परिषद्का उपनिर्देशक रमाकान्त काफ्लेले जानकारी दिए । प्राविधिक शिक्षालयमा छोटो अवधिका तालीम, प्रि एसएलसी र डिप्लोमा तहका सबै विषयको पठनपाठन हुने जनाइएको छ । प्राविधिक शिक्षालयमा प्रदेश १ मा पर्ने १४ वटै जिल्लाका विद्यार्थीलाई सहभागी गराइनेछ ।

(रासस)

प्रकाशित समय १७:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु