गृहपृष्ठ विराटगरको सवारी व्यवस्थापन गरिने
विराटगरको सवारी व्यवस्थापन गरिने

विराटनगर महानगरपालिकाभित्र सवारी व्यवस्थापनका लागि पहल सुरु भएको छ । जिल्ला ट्राफिक, यातायात व्यवसायी, उद्योगीलगायत सम्बद्ध निकायसँग आइतबार महानगरमा भएको छलफलमा ट्राफिक समस्या समाधान गर्ने निर्णय भएको हो ।
विराटनगरस्थित ट्राफिक चोकदेखि जलजलामोडसम्म मेनरोडमा दुवैतर्फ पार्किङ निषेध गरिनुका साथै ए प्लट, बि प्लट र नमस्कार होटल अगाडिको भागमा पार्किङ गर्न दिइने र बुधहाटचोक हनुमान मन्दिरदेखि जलजला मोडसम्म लाग्दै आएको वान वे मा दुइपाङ्ग्रे सवारीसाधनलाई आवतजावत खुला गरिने भएको छ ।
कार्यक्रममा महानगरका प्रमुख भीम पराजुलीले ट्राफिक प्रहरीसँगको सहकार्यमा महानगरले जनमुखी कार्यलाई निरन्तरता दिने बताए । उनले महानगरभित्रको व्यवस्थित ट्राफिक व्यवस्थापनलाई साउन १ गतेदेखि पूर्णरुपमा कार्यान्वयनमा ल्याउने जानकारी दिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख शिव पोखरेलले विराटनगरको ट्राफिक व्यवस्थापनमा केही नयाँपन दिन लागिपरेको बताए । पोखरेलले जिल्लाभरि आफूले ट्राफिकको समस्या पहिचान गरी समाधानका लागि अघि बढेको बताए ।
कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद दाहाल, मोरङ व्यापार संघका अध्यक्ष पवन सारडा, उद्योगी नवीन रिजाल, जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी निशान थापा, विराट व्यापार संघका सुजन थापा, पूर्वनेपाल यातायत व्यवसायी महासंघका धर्मदेव साहलगायतले ट्राफिक व्यवस्थापन र सहजताका विषयमा सुझाव दिएका थिए ।
प्रदेश १ को राजधानी घोषणा भएसँगै सिटी रिक्सा र अन्य सवारीसाधनको चाप बढेकाले विराटनगर ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुँदै गएको छ ।
प्रकाशित समय १७:४४ बजे