गृहपृष्ठ राजपामा विवाद : संसदीय दलमा महतोको दाबी

राजपामा विवाद : संसदीय दलमा महतोको दाबी

rajapa-meeting-newskarobar

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा अध्यक्ष र संसदीय दलको नेताको विषयमा नेताहरुबीच विवाद चर्किएको छ । दुबै पदमा एकै व्यक्ति हुने कि फरक–फरक हुने भन्ने विवादका कारण शनिबार नै सक्ने भनिएको राजनीतिक समितिको बैठक लम्बिएको छ ।

अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संसदीय दलको नेतामा दाबी पेस गरेका छन् । तर, पार्टीको संयोजक रहेका महन्थ ठाकुरका विषयमा अन्य नेताले विरोध नगरेको बताइएको छ ।
विधान मस्यौदा एकीकृत गर्न गठित तीन सदस्यीय कार्यदलले आगामी महाधिवेशनपछि पार्टी एकल नेतृत्वमा जाने गरी प्रस्ताव ल्याएको छ । तर, तत्काललाई संयोजकलाई नै संसदीय दलको नेता बनाउने कि विकल्प खोज्ने भन्ने विवादले कार्यदलको प्रस्तावमाथिको छलफल प्रभावित भएको नेताहरुले बताएका छन् ।

राजनीतिक समितिको बैठकले आगामी महाधिवेशन २०७६ वैशाख ७ देखि ९ गतेसम्म गर्ने निर्णय गरिसकेको छ । विधान पारित भएपछि राजपालाई संसदीय दल गठनको बाटो खुल्नेछ ।
लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ला र वृषेशचन्द्र लाल रहेको विधान एकीकृत कार्यदलले महाधिवेशनपछि एक अध्यक्ष, दुई सह–अध्यक्ष, तीन महासचिव, तीन सहअध्यक्ष, एक कोषाध्यक्ष र एक प्रवक्ता रहने प्रस्ताव गरेको छ । एकल अध्यक्षको व्यवस्था गरे पनि वरिष्ठ एवं प्रमुख नेताहरुलाई व्यवस्थित गर्न भन्दै १४ सदस्यीय कार्यकारिणी सल्लाहकारको व्यवस्थाको प्रस्ताव गरिएको छ ।

कार्यकारिणी सल्लाहकार समितिले अध्यक्षलाई सल्लाह दिनेछ । अध्यक्षले सल्लाहकारको सल्लाहको आधारमा काम गर्नुपर्ने प्रावधान राखिएको छ ।

प्रकाशित समय १७:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु