गृहपृष्ठ प्रचण्डले पक्षपात गरेको स्थानीय नेताको आरोप
प्रचण्डले पक्षपात गरेको स्थानीय नेताको आरोप

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक व्यक्तिको पछि लागेर अन्यलाई पक्षपात गरिरहेको नेकपा रामेछापका नेताहरुले आरोप लगाएका छन् । विष्णु चौलागाईं ‘अभय’ को १५औं स्मृति सभामा असार ३१ गते अभयसँगै सहिद भएका खिलनारायण श्रेष्ठ ‘उन्नत’लाई बेवास्ता गरेको सन्दर्भमा स्थानीय नेताहरुले यस्तो आरोप लगाएका हुन् ।
सुनापती–काठमाडौं संघीय जनसम्पर्क मञ्चले आयोजना गरेको स्मृति सभामा नेकपाका अध्यक्ष प्रचण्ड प्रमुख अतिथिका रुपमा सहभागी भएका थिए । तर, जनसम्पर्क मञ्चले गरेको कार्यक्रममा जिल्लालाई नै खबर नगरिएको भन्दै स्थानीय नेताहरुले आपत्ति जनाएका छन् ।
सहिदमाथि नै पक्षपात भइरहेको भन्दै सामाजिक सञ्जालमा स्मृति सभाको चर्को विरोध भइरहेको छ । रामेछापका नेताहरुले जनसम्पर्क मञ्चले गरेको कार्यक्रममा जिल्लालाई खबर नगरिएको र सहिदलाई व्यक्तिगत वा पारिवारिक बनाइएको भन्दै विरोध गरेका छन् । १० बर्से जनयुद्धमा अभयलगायतका १६ जनाले सुनापतिमा मात्र ज्यान गुमाएका छन् भने जिल्लाभर १ सय २० भन्दा बढीको ज्यान गएको छ ।
अन्तर्राष्ट्रिय महत्व राख्ने ‘दोरम्बा हत्याकाण्ड’मा जस्तो घटना जोडिएको कार्यक्रममा अध्यक्ष प्रचण्ड नगएको र एकजनाको स्मृतिसभामा गएकोप्रति पनि उनीहरुले गुनासो गरेका छन् । ‘यो त अध्यक्ष आफैंले मनन गर्नुपर्ने कुरो हो, अध्यक्षले यसरी व्यक्तिपिच्छेको स्मृति मनाउने हो भने १७ हजार सबैको मनाउन पर्यो,’ एक स्थानीय नेताले भने ।
रामेछाप–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष इलक तामाङले आयोजकको दबाबमा त्यस्तो हुन गएको स्वीकारेका छन् । ‘केन्द्रीय सदस्य युवराज चौलागाईं र तत्कालीन माओवादीका जिल्ला संयोजक मैनकुमार मोक्तानको दबाबमा सुनापती–काठमाडौं संघीय जनसम्पर्क मञ्चको ब्यानर राखिएको हो,’ उनले भने, ‘अध्यक्ष प्रचण्डलाई पनि उनीहरुले नै ल्याएको हुन्, यसमा मेरो दोष छैन ।’ नेताले भनेको मान्दा सहिदहरुको अपमान भएको भन्दै उनले भने, ‘आउँदा दिनमा सहिदको अपमान हुने कुनै पनि क्रियाकलाप गर्ने छैन ।’
प्रकाशित समय १७:४६ बजे