गृहपृष्ठ डाक्टरको आन्दोलनले बिरामीको विचल्ली
डाक्टरको आन्दोलनले बिरामीको विचल्ली
अस्पतालका सबै सेवा सुचारु गराउँन माग गर्दै वीर अस्पतालमा सेवाग्राहीहरुले बिहिबार प्रर्दशन गरेका छन् । बिहिबार विहान अस्पताल पुगेका बिरामीहरुले सेवा नपाएपछि प्रदर्शन गरेका हुन् । सेवा बन्द गरी आफूहरुको स्वास्थ्यमाथि खेलबाड गर्ने काम चिकित्सकहरुले गरेको भन्दै बिरामी तथा सेवाग्राहीहरुले केहीबेर नारावाजीसमेत गरेका थिए ।
बिरामी र बिरामी कुरुवाहरुले बिरामीहरुको जीवन धरापमा पारेर चिकित्सकहरुले पदीय दुरुपयोग गरेको भन्दै आक्रोश व्यक्त गरे । तत्काल सबै सेवा सुचारु गराउँन माग गर्दै उनिहरुले आकस्मिक सेवामा हड्ताल गर्ने चिकित्सकलाई कारवाही गर्नसमेत माग गरे ।
बरिष्ठ चिकित्सक डा. गोविन्द केसीको माग सम्बोधन गर्न दबाव दिँन भन्दै नेपाल चिकित्सक संघको आह्वानमा देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ । बहिरंग सेवा बन्द भएपछि बिरामी र बिरामी कुरुवाहरुले सास्ती व्यहोर्नु परेपछि सेवा बन्द गर्ने चिकित्सकविरुद्ध आन्दोलनमा उत्रिएका हुन् ।
बिरामी कुरुवाहरुले आफ्नो बिरामीको जीवनमाथि खेलवाड गर्ने चिकित्सकहरुले तत्काल क्षतिपूर्ति दिनुपर्ने माग पनि गरे । डा. केसीको माग जायज भए पनि बिरामीहरुलाई उपचार गर्न छोडेर डाक्टरहरुले महाँअपराध गरेको सेवाग्राहीहरुको आक्रोस थियो ।
दाङबाट वीर अस्पतालमा उपचारको लागी आएका ४५ वर्षीय रमेश डाँगीले डाक्टरको हड्तालले आफू र आफूजस्ता बिरामीले अकल्पनीय सास्ति व्यहोर्नुपरेको गुनासो गरे । अस्पताल बन्द गरेर चिकित्सकहरुले आफूहरुलाई मारमा पारेको भन्दै उनले आक्रोस पोखे । ‘डाक्टरले ज्यान बचाउने भएकाले भगवान् मान्दै आएका थियौं,’ डाँगीले भने, ‘तर अहिले हाम्रो ज्यान जोखिममा पार्दैछन् ।’
बिरामी लिएर अस्पताल आएका अधिकांश सेवाग्राहीले ओपिडी सेवा बन्द भएको जानकारी नभएको समेत बताए । सेवाग्राहीहरुले अस्पताल बन्द गरेर चिकित्सकहरुले बिरामीमाथि खेलबाड गर्न नहुनेतर्फ पनि सचेत गराए । उनीहरुले डा. केसीको माग सम्बोधन गराउन आफूहरु पनि आन्दोलनमा जान तयार रहेको भन्दै अस्पतालको सेवा तत्काल खुलाउन अस्पताल प्रशासनसँग माग राखे ।
बरिष्ठ चिकित्सक केसीले जुम्ला पुगेर आमरण अनसन बसेपछि चिकित्सकहरुले उनको माग सम्बोधन गराउन अस्पतालका आकस्मिकबाहेक सबै सेवा बिहिबार बन्द गरेका हुन् । चिकित्सको हड्तालले देशैभरका अस्पतालका बिरामीले शास्ति पाएका छन् ।
प्रकाशित समय १७:३८ बजे

















