गृहपृष्ठ पूर्वीनाकाबाट १७४ नेपाली चेलीको उद्धार
पूर्वीनाकाबाट १७४ नेपाली चेलीको उद्धार
सांकेतिक तस्बिर
माइती नेपालले पूर्वीनाका काँकडभिट्टाबाट ६ महिनामा १७४ नेपाली चेलीको उद्धार गरेको छ । मानव बेचबिखनमा संलग्न दलालहरुले झुक्याएर भारततिर लैजान लागेको अवस्थामा ती चेलीलाई सम्झाई–बुझाई नाकाबाट फर्काएर अभिभावकको जिम्मा लगाइएको हो ।
ती मध्ये १० जनालाई सिलिगुडी, दिल्ली र खोरीबारीलगायत स्थानबाट उद्धार गरिएको माइती नेपालको काँकडभिट्टास्थित पूर्वाञ्चल क्षेत्रीय कार्यालयले जनाएको छ । मानव बेचबिखनको ट्रान्जिट मानिएको पूर्वको काँकडभिट्टा, पशुपतिनगर र भद्रपुर, जोगवनी नाकामा माइती नेपालले कर्मचारी खटाएर नियमित निगरानी गर्दै आएको छ ।
सन् २०१७ को जनवरीदेखि जुनसम्ममा माइती नेपालको पूर्वाञ्चल क्षेत्रीय कार्यालय काँकडभिट्टामा महिला हराएको ८६ वटा घटना दर्ता भएकामा खोजी कार्य गरेर ३० जना फेला परेको माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले बताए । सो अवधिमा मानव बेचबिखनसम्बन्धी तीनवटा र घरेलु हिंसासम्बन्धी दुईवटा मुद्दा अदालतमा दर्ता गराइएको छ ।
त्यसैगरी, सोही अविधिमा माइती नेपालले पशुपतिनगर नाकाबाट १ सय ९५ जनालाई भारत जानबाट रोकेको छ भने १८ जनाको उद्धार गरेको छ । पशुपतिनगरमा मानव हराएका ६३ वटा निवेदन परे पनि २२ जनालाई फेला पारेर आफन्तको जिम्मा लगाइएको छ ।
त्यसैगरी, जोगवनी नाकामा १ सय २० जनालाई रोकिएको छ भने चारजनाको उद्धार तथा हराएका ३५ जनाको निवेदन परेर पनि १५ जना फेला परेको माइती नेपालले जनाएको छ । चेलीबेटी बेचबिखन रोक्न माइती नेपाल प्रहरीसँग मिलेर विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।
(रासस)
प्रकाशित समय १२:५० बजे

















