गृहपृष्ठ शैक्षिक जनशक्तिको प्रोफाइल बनाउँदै सरकार
शैक्षिक जनशक्तिको प्रोफाइल बनाउँदै सरकार
देशको समृद्धि र जनताको सुखका लागि परिपूरण हुने शिक्षाको खाँचो छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाली’ को संकल्पअन्तर्गत रही मुलुकमा कुन विषयमा कति जनशक्ति आवश्यक पर्छ भन्नेबारेमा स्पष्ट योजना ल्याउन त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई निर्देशन दिएका छन् । त्रिविको ५९औं वार्षिक दिवस र सिनेट बैठकमा प्रधानमन्त्रीले मुलुकको विकास र समृद्धिका लागि आवश्यक जनशक्तिको पूर्वानुमान गरी लक्षित क्षेत्र र वर्गलाई ध्यान दिएर कलेजको सम्बन्धन दिन र अध्ययन अनुसन्धान गर्न पनि निर्देशन दिए ।
प्रधानमन्त्री ओलीले राष्ट्रिय योजना आयोग र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक जनशक्तिको आवश्यकताको पहिचानसम्बन्धी विवरण (प्रोफाइल) तयार गरिरहेको जानकारी दिए । त्रिविले पनि त्यसअनुसार आफूलाई समयसापेक्ष, गुणस्तरीय, प्राविधिक, व्यावहारिक र अनुसन्धानमुखी शिक्षातर्फ केन्द्रित गर्नुपर्ने उनको भनाइ छ । ‘देशको समृद्धि र जनताको सुखका लागि परिपूरण हुने शिक्षाको खाँचो छ,’ प्रधानमन्त्रीले भने, ‘त्यसका लागि छलफल गरी निष्कर्ष र योजना तय गरेर कार्यान्वयनमा जानुपर्छ ।’
प्रधानमन्त्री ओलीले किराना पसल खोलेझैं ‘को ग्राहक आउँछ’ भनेर कुर्ने प्रकारले क्याम्पस खोलेर हुँदैन भन्दै आवश्यकताका आधारमा लक्षित क्षेत्रमा निर्भिकताका साथ स्थापना गरी जानुपर्ने बताए । निर्वाहमुखी कृषिको अवस्थाबाट माथि उठ्दै नेपाललाई केही वर्षमै तीव्र आर्थिक विकास हुने मुलुकमा रुपान्तरण गर्नुपर्ने प्रधानमन्त्रीले बताए ।
सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयले प्राविधिक धारलाई बढावा दिनुपर्नेमा जोड दिए । ‘विश्वविद्यालयका समस्या र समाधानका बारेमा औपचारिक बैठकमा नभर्इ पदाधिकारीसँग बसेर अलग्गै गम्भीर छलफल गर्नुपर्नेछ,’ उनले भने ।
उपकुलपति डा. तीर्थराज खनियाँले राष्ट्रको उच्चशिक्षामा ८० प्रतिशतभन्दा बढी जिम्मेवारी त्रिविले बहन गरिरहेको उल्लेख गरे । रजिष्ट्रार डिल्लीराम उप्रेतीले प्रस्तुत गरेको ५६औं ग्रेस लिस्टको विवरण बैठकले स्वीकृत गरेको छ । विभिन्न संकाय र तहमा गरी यो वर्ष कुल ७३ हजार ९ सय १ विद्यार्थी आउँदो दीक्षान्त समारोहका लागि योग्य भएका छन् ।
(रासस)
प्रकाशित समय १३:१४ बजे