गृहपृष्ठ सेयर कारोबारमा ३१ प्रतिशत गिरावट
सेयर कारोबारमा ३१ प्रतिशत गिरावट
विश्लेषक भन्छन्– वित्तीय विवरण हेरेर निर्णय लिने बेला आयो

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सेयर कारोबार ३१.३२ प्रतिशतले घटेको छ । गत साता २ अर्ब ११ करोड ८८ लाख रुपैयाँको सेयर किनबेच भएकोमा यो साताको कारोबार १ अर्ब ४५ करोड ५१ लाखमा सीमित भएको हो । सेयर संख्याका हिसाबले पनि गत साताभन्दा यो साता कम कारोबार भएको छ । गत साता ६१ लाख १२ हजार तीन सय ७० कित्ता सेयर किनबेच भएकोमा यो साता जम्मा ४७ लाख ५४ हजार पाँच सय २० कित्तामात्र खरिद–बिक्री भयो ।
साताभरमा नेप्से परिसूचक ६.७ अंकले घटेको छ । साताको पहिलो दिन आइतबारको तुलनामा ६.७ अंकले घटेर बिहीबार ११९३.३९ अंकमा बजार झरेको हो । अनलाइन कारोबार सुरु भइरहँदा पनि सेयर बजारले बुलिस ट्रेन्ड समात्न सकेको छैन । त्यस्तै, मौद्रिक नीतिमार्फत मार्जिन कलको सीमा बढाएर २० प्रतिशत पुर्याइएको छ । बजारमा तरतला समस्या समाधान हुँदै गएको छ । बैंकहरुले ब्याजदरलाई सीमाभित्र राख्ने प्रयास गरिरहेका छन् । तर, यसका बाबजुद सेयर बजार सकारात्मक बन्न नसक्नुलाई विश्लेषकहरुले लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा रहेको रुपमा बुझेका छन् ।
ठूला लगानीकर्ता बजार प्रवेश नगरिसकेको उनीहरुको ठम्याइ छ । तर, बजार न्यून बिन्दुनजिक रहेकाले र आर्थिक परिदृष्यसमेत सकारात्मक बन्दै गएकाले बजार छिट्टै मुभ हुनसक्ने देखिएको छ । गत आर्थिक वर्ष २०७४/७५ मा कम्पनीहरुले गरेको मेहनतको फल सार्वजनिक गर्ने बेला भएकाले अब प्रकाशित हुने वित्तीय विवरण अध्ययन गरी सेयर किनबेचको निर्णय लिन सकिने सेयर विश्लेषक रवीन्द्र भट्टराई बताउँछन् । ‘सेयर बजार न्यून विन्दुको नजिक रहेकाले जोखिम कम छ,’ उनी भन्छन्, ‘तर लगानीकर्ताले राम्रा कम्पनी छनोट गर्ने कुरालाई विशेष प्राथमिकता दिनैपर्छ ।’
बजारमा ठूलोमात्रामा हकप्रद तथा बोनस सेयर प्रवाह भएको र त्यति नै मात्रामा प्राथमिक सेयर निष्कासन भएकाले करिब दुई वर्षदेखि नेप्से ओरालो लागिरहेको छ ।
लगानीकर्ताको रोजाइमा प्राइम लाइफ
यो साता कारोबार रकमका आधारमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर सबैभन्दा बढी किनबेच भयो । प्राइम लाइफको ३५ करोड ८० लाख १० हजार रुपैयाँको सेयर किनबेच भएको हो । कारोबार भएको सेयर संख्याका आधारमा पनि प्राइम लाइफ नै अगाडि रह्यो । प्राइम लाइफको १२ लाख ५२ हजार कित्ता सेयर खरिद–बिक्री भएको हो ।
यो साता रिलायन्स फाइनान्सको २० लाख पाँच हजार दुई सय ९७ र नेपाल इन्स्योरेन्सको ३० लाख १९ हजार ८ सय ८६ कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । त्यस्तै, मिथिला लघुवित्तको ८६ हजार ५८, नेपाल इन्स्योरेन्सकै १ लाख ३६ हजार ६ सय १४ र फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको १० लाख एक हजार ६ सय ५७ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।
प्रकाशित समय १२:३९ बजे