गृहपृष्ठ कर्णाली नदीमा डुंगा दुर्घटनामा हराइरहेका दुईमध्ये एकको शव भेटियो

कर्णाली नदीमा डुंगा दुर्घटनामा हराइरहेका दुईमध्ये एकको शव भेटियो

कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा बेपत्ता भएका दुई जनामध्ये एकको शव भेटिएको छ । इलाका प्रहरी कार्यालय चिसापानीका अनुसार २३ वर्षका पुरुषोत्तम चौधरीको शव टीकापुर नगरपालिका–८ सत्तीघाट नजिकै भेटिएको हो । उनी स्थानीय बोर्डिङ स्कुलका शिक्षक हुन् ।

नदीमा अड्किएको शव झिकेर आफन्तको जिम्मा लगाएको इलाका प्रहरी कार्यालय चिसापानीका इञ्चार्ज प्रहरी निरिक्षक दिपेन्द्रबहादुर केसीले जानकारी दिए । उनका अनुसार चौधरीसँगै बेपत्ता भएका २२ वर्षका समिर बडैलाको भने अझै खोजी भइरहेको छ ।

उनीहरू असोज २९ गते मोहन्याल गाउँपालिका–७ पितमारीस्थित कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा बेपत्ता भएका थिए । सोही डुंगामा रहेका २ जना उनीहरूकै साथी र एक जना डुंगा चालकलाई भने प्रहरीले उद्दार गरेको थियो । जोशीपुर गाउँपालिकाका चारैजना मोटरसाइकलमा पिकनिक मनाउन पितमारी पुगेका थिए ।

पिकनिक मनाउने क्रममा उनीहरू चारैजना माछा मार्न प्रयोग हुने काठको सानो डुंगामा चढेको प्रहरीले जानकारी दिएको छ । सो ठाउँमा हरेक वर्ष पिकनिक गएकाहरू नदीमा पौडिने क्रममा बेपत्ता हुने गरेका छन् । प्रहरीले नदीमा पौडिन रोक लगाएको भए पनि कतिपयले अटेर गर्दै आएका छन् ।

प्रकाशित समय १२:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु