गृहपृष्ठ मुख्यमन्त्री राईद्वारा भोजपुरमा साढे १३ करोडको कालोपत्रे सडक शिलान्यास

मुख्यमन्त्री राईद्वारा भोजपुरमा साढे १३ करोडको कालोपत्रे सडक शिलान्यास

भोजपुर सदरमुकामदेखि एयरपोर्ट जोड्ने सडक कालोपत्रे शनिबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शिलान्यास गरेका छन् । प्रदेश सरकारको यसै आर्थिक वर्षको बजेटबाट कालोपत्रे गर्न लागिएको ५ किलोमिटर सडकको लागत १३ करोड ५३ लाख ९८ हजार रुपैयाँ छ ।
पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेडीका अनुसार उक्त सडक निर्माणका लागि ठेकेदार कम्पनी रायामाझी–जगदम्बा–मार्सेली जेभीसँग सम्झौता गरिएको छ ।
सडक कालोपत्रेको काम १८ महिनाभित्र सक्ने गरि सम्झौता गरिएको छ । सडक निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीका प्रतिनिधी श्यामकुमार श्रेष्ठले आफूले समयमै गुणस्तरीय काम सम्पन्न गर्ने सार्वजनिक प्रतिवद्धता जनाए ।
सडकको शिलान्यास गर्दै मुख्यमन्त्री शेरधन राईले प्रदेश १ को १४ जिल्लाभरिमै यस आर्थिक वर्षको सबैभन्दा छिटो शुरु भएको यति ठूलो राशीको योजनाको रुपमा भोजपुर–एयरपोर्ट सडक कालोपत्रे रहेको भन्दै यो प्रदेशको गौरवको आयोजना भएको बताए ।
आफू अहिले दिन सक्ने हैसियतमा डाडुपन्यु लिएर बसेकाले भोजपुर जिल्लाको विकासका लागि कुनै कसर बाँकी नराख्ने मुख्यमन्त्री राईको प्रतिवद्धता थियो । उनले चाँडै भोजपुरमा अन्तराष्ट्रिय मापदण्डको फुटबल रंगशाला, ट्याम्के डाँडामा भ्यू टावरको शिलान्यास गरिने जानकारी दिए ।

प्रकाशित समय १७:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु