गृहपृष्ठ उदयपुरको भुल्के : यसरी बन्यो ‘कोरोना केन्द्र’

उदयपुरको भुल्के : यसरी बन्यो ‘कोरोना केन्द्र’

कोही लखनउबाट आए, कोही दुबईबाट फर्किए थिए

नेपालमा अहिलेसम्म भेटिएका कोभिड- १९ संक्रमित मध्येको एउटा हिस्सा बोदेबर्साइनको इज्तिमासँग जोडिएपछि उनीहरुको ‘ट्राभल हिस्ट्री’ र ‘कन्ट्याक्ट ट्रेसिङ’मार्फत संक्रमणको सञ्जाल पहिल्याउने काम भइरहेको छ । सरकारले बन्दाबन्दी घोषणा गरेको चार दिनअघि (८ चैत) मा भारतको उत्तर प्रदेशस्थित सुरत लखनऊका मस्जिदमा उर्दू भाषा पढ्न गएका एक जना उदयपुरको भुल्के आइपुगे । सोही स्थानमा टेलरिङमा काम गर्ने टेलर मास्टर पनि त्यसै दिन भुल्के आए । वैदेशिक रोजगारीमा दुबई गएका अर्का एक जना पनि त्यसै दिन भुल्के भित्रिएका थिए ।

उनीहरुमध्ये उर्दू पढ्न जाने विद्यार्थी भारतबाट आएर मस्जिदमा बसिरहेका जमाती (धर्म प्रचारक समूह)सँगै बस्न थाले । ती विद्यार्थी उर्दू भाषा जान्ने भएकाले जमातीहरुलाई पनि सहज हुने हुँदा मस्जिदमा नै एकै ठाउँ बस्न थालेका थिए । अर्का टेलर मास्टर दैनिक पाँचपटक नियमित मस्जिदमा नमाज पढ्न जान्थे । उदयपुर फर्किएपछि भने उनी पाँचपटक नै नमाज पढ्न भुल्केस्थित नुरी मस्जिदमा गइरहेकै हुन्थे । ५८ वर्षका उनमा कोभिड- १९ संक्रमण पुष्टि भएपछि विराटनगरमा उपचार भइरहेको छ । त्यस्तै दुबईबाट आएका अर्का व्यक्ति पनि नियमित नमाज पढ्न नुरी मस्जिद नै पुग्थे ।

यी दुईबाहेक तेस्रो, १८ वर्षका युवा जो यतिखेर संक्रमण पुष्टि भएर उपचाररत छन् । सप्तरीको सुरुङा नगरपालिका- ११ को अरहाबाट १६ चैतमा भुल्के पुगेका हुन् । त्यसअघि यी १८ वर्षे युवा भुल्केकै अर्का संक्रमितको परिवारसँगै भारतको वीरपुर, बाइसीमा सम्पन्न विवाहमा सहभागी थिए । दुबईबाट चैत ८ गते साँझ भुल्केस्थित घर पुगेका अर्का एक जना पनि संक्रमित छन् । उनी काठमाडौंबाट जनकपुरसम्म आन्तरिक उडान र त्यसपछि गाडी रिजर्भ गरेर भुल्के पुगेका थिए । उनी घर पुगेकै दिन उनका ९५ वर्षका बुवाको मृत्यु भएको थियो । जसमा उनीसँगै करीब पाँच सय जना मलामी (जनाजा) गएका थिए । उनी पनि नुरी मस्जिदमा नियमित नमाज पढ्न जान्थे । कोभिड–१९ संक्रमणको ‘हब’ देखिएपछि प्रहरीले संक्रमण पुष्टि भएका २८ जनाको ‘ट्राभल हिस्ट्री’ र ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्दा भेटिएका यी तथ्यका आधारमा संक्रमणको सञ्जाल अनुसन्धान गरिरहेको छ ।

अहिलेसम्मको अनुसन्धानमा स्थानीय नुरी मस्जिदमा जाने र त्यहाँ बसिरहेका व्यक्तिहरुको सम्पर्कमा आएका व्यक्ति नै संक्रमित भएको पुष्टि भएको छ । मस्जिदमा बस्ने मौलवीसमेत संक्रमित छन, जो सप्तरी सुरूंगा नगरपालिकाका हुन् । सुरुङामा यसअघि वीरगञ्जमा संक्रमण पुष्टि भएका तीन जना भारतीय नागरिकको सम्पर्कमा रहेका थिए । नमाज पढ्न जाने, एकै घरमा खाना खाने र सामूहिक छलफलमा सहभागी भएकाहरुमा संक्रमण पुष्टि भइरहेको छ । प्रहरीको केन्द्रीय हेल्थ कमाण्डका एक उच्च अधिकारीका अनुसार मस्जिदको सम्पर्कमा रहेका व्यक्तिहरुमा संक्रमण पुष्टि भएको हो । त्यसमध्ये भारतमा उर्दू पढ्न गएका विद्यार्थीले संक्रमण फैलाएको हुनसक्ने अनुमान गरिएको छ । जे भए पनि भारतबाट आएका २ जना र दुबईबाट आएका १ जनाबाट संक्रमण फैलिएको हो भने निष्कर्ष अनुसन्धानबाट खुलेको छ । भारतीय जमातीले भने होइन भन्ने पुष्टि भएको प्रहरी स्रोतले जनायो ।

भुल्केमा १२ जना भारतीय जमाती आएर बसेको जानकारी पाउन साथ उनीहरुसहित मोरङका ४ जना जमातीलको वैशाख ३ गने स्वाब परिक्षण गरिएको थियो । वैशाख ५ गते १२ जनामा संक्रमण पुष्टि भएको हो । यी १२ मध्ये ११ जना भारतीय नागरिक हुन् । त्रियुगा नगरपालिका- ३, भुल्केस्थित नुरी मस्जिदमा केही भारतीय नागरिक बसेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो । मस्जिदमा भारतको नयाँदिल्ली बस्दै आएका ७ जना, उत्तर प्रदेशका ३ जना, जामियानगरका १ जना र बिजनौरका १ जना गरी १२ भारतीय जमाती र ४ नेपालीसहित १६ जना त्यहाँ भेटिएका थिए । सप्तरीको बोदेबर्साइनमा सम्पन्न तब्लिगी जमातको नेपाल इज्तिमापछि २५ फागुनका दिन उनीहरु उदयपुर भित्रिएका हुन ।

प्रहरीको नेतृत्वमा ३ वैशाखमा जिल्ला अस्पताल उदयपुरबाट खटिएको चिकित्सकको टोलीले उनीहरुको ‘आरडीटी’ र ‘पीसीआर’ दुवै परीक्षण गरेको थियो । र्‍यापिड टेस्टमा नेगेटिभ देखिएका उनीहरुको विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा गरिएको पीसीआर परीक्षणको ५ वैशाखको रिपोर्टले पोजिटिभ देखायो । यो रिपोर्ट आएसँगै प्रहरीले मस्जिदमा बसेका १६ जनालाई नै विराटनगरस्थित कोभिड- १९ अस्पतालमा पठाएको थियो ।

भुल्के क्षेत्रलाई सिल गरेर आवागमनमा कडाई गर्दै विशेष सावधानी अपनाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका (एसपी) बीरबहादुर बुढा मगरले बताए । यसलगत्तै भुल्के क्षेत्रलाई आधार बनाएर संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिहरुको पहिचान गरेर जाँच अभियान सुरु भएको हो । उदयपुरमा भेटिएका संक्रमित भारतीयहरु दिल्लीबाट आएका र २५ मंसिर (१० डिसेम्बर) मा जोगबनी नाका हुँँदै नेपाल भित्रिएका हुन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उनीहरुका साथमा भेटिएको रेलको टिकटले नेपाल प्रवेशको मिति पुष्टि भएको हो ।

उनीहरु नेपाल आएपछि विराटनगर रानीस्थित मस्जिदमा ३५ दिन, विराटनगरकै अर्को मस्जिदमा ५ दिन बसेका थिए । त्यसपछि सुनसरीको भुताहामा २२ दिन र भोक्राहामा ८ दिन बसेर सप्तरीको बोदेबर्साइनमा सम्पन्न फागुन ३ गतेदेखि तीन दिनसम्म भएको इज्तिमामा सहभागी भएका थिए । इज्तिमा सम्पन्न भएपछि सुनसरीको भन्टाबारी, सप्तरीको कञ्चनरुप नपाको बरमझिया र चर्खिया तथा सप्तकोशी नपाको फत्तेपुर बजार र उदयपुरको सिवाही हुँदै जमाती २५ फागुनमा भुल्के पुगेका थिए । सबैजसो ठाउँमा पाँचदेखि सात दिन बस्दै पैदलै यात्रा गरेको दावी संक्रमितहरुले प्रहरीलाई दिएको बयानमा उल्लेख छ । स्वदेश (भारत) जाने तयारीमा रहेका उनीहरु दुवै नेपालमा बन्दाबन्दी भएपछि रोकिएका हुन् ।

प्रकाशित समय १९:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु