गृहपृष्ठ लेप्चाको संस्कृति बचाउन रणनीतिक योजना तयार

लेप्चाको संस्कृति बचाउन रणनीतिक योजना तयार

ilam-newskarobar सांकेतिक तस्बिर

लापोन्मुक लेप्चा समुदायको भाषा तथा संस्कृतिको जर्गेना गर्न इलामको रोङ गाउँपालिकाले २० वर्षे रणनीतिक कार्ययोजना तर्जुमा गरेको छ । लेप्चा समुदायको उत्थानका लागि गाउँपालिकाले रणनीतिक कार्ययोजना बनाएको हो ।

गाउँपालिकाका अध्यक्ष समशेर राईले कार्ययोजनाभित्र लेप्चाको रहनसहन, बसोवासलाई प्राथमिकता दिएको जानकारी दिए । ‘लेप्चा भनेको हाम्रो संस्कृति हो । यसका बारेमा अन्तर्राष्ट्रियस्तरसम्म चिनाउन सकियो भने पर्यटकीय दृष्टिले माथि उठ्न सहज हुन्छ,’ राईले भने । उनले लेप्चा समुदायको संस्कृति र लिपी बचाउनका लागि आफूहरुले योजना निर्माण गरेको जानकारी दिए ।

 

पाँच वर्षभित्र संग्रहालय निर्माण गरिने
गाउँपालिकाले रणनीतिक कार्ययोजनामा आगामी पाँच वर्षभित्रमा लेप्चा समुदायको परम्परागत सामग्री राख्नका लागि संग्रहालय निर्माण गरिने भएको छ । रोङ गाउँपालिकाका अध्यक्ष राईका अनुसार एक वर्षभित्रमा लेप्चाको पुरातात्विक महत्वको बारेमा अनुसन्धान गर्ने र बाँकी चार वर्षमा भौतिक निर्माण सक्ने योजना रहेको छ ।

‘लेप्चाको सामग्री मात्रै राखेर संग्रहालय बनाउने काम त सहज छ तर हामी त्यो भन्दा ब्यापक तरिकाले निर्माण गर्ने छौं,’ राईले भने, ‘संग्रहालय बनाउँदा उनीहरुको परम्परा नमर्ने र कस्तो वस्तु प्रयोग गर्दा सहज हुन्छ त्यसका बारेमा विज्ञ टोलीसित छलफल गरेर हामी संग्रहालय निर्माणमा लाग्नेछौं ।’

बिस वर्षे योजनामा वार्षिक कार्यतालिका निर्माण गर्ने र प्रदेश सरकारसित पनि आर्थिक क्षेत्रमा सहयोग माग्ने राईको भनाइ छ । उनका अनुसार गाउँपालिकाले लेप्चा समुदायका खाद्यान्नको प्रवद्र्धन गर्न सामुदायिक घरवाससमेत निर्माण गर्ने भएको छ । गाउँपालिका अध्यक्ष राईले भने, ‘लेप्चा समुदायका खाद्यान्नका माध्यमबाट पर्यटन प्रवद्र्धनका लागि उनीहरुका आफ्नै हातबाट बनाएका खाद्यान्न मात्रै समेटिएको घरवास निर्माण गर्ने योजना छ ।’

जनगणना २०६८ का अनुसार लाप्चा समुदायको कूल जनसंख्या तीन हजार ४४५ रहेको छ । उनीहरूमध्ये तीन हजार २६४ जना ग्रामीण अनि १८१ जना शहरी क्षेत्रमा बस्छन् ।

प्रकाशित समय १६:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु