गृहपृष्ठ सञ्चारमन्त्री भन्छन्- जबरजस्ती धर्म परिवर्तन स्वीकार्य हुन्न

सञ्चारमन्त्री भन्छन्- जबरजस्ती धर्म परिवर्तन स्वीकार्य हुन्न

gokul_baskota-newskarobar फाइल तस्बिर

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जबर्जस्ती धर्म परिवर्तन स्वीकार्य नहुने बताएका छन् । बनेपा इसाई समितिद्वारा मंगलबार आयोजित संयुक्त ख्रिष्टमस कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘जबर्जस्त धर्म परिवर्तन स्वीकार्य छैन,’ मन्त्री बाँस्कोटाले भने, ‘धर्म कुनै व्यक्तिको पनि प्याओ हैन ।’ उनले नेपाल धर्म निरपेक्ष मुलुक भएकाले राज्यको कुनै धर्म नहुने बताए ।

मन्त्री बाँस्कोटाले धर्म मान्ने विषय व्यक्तिगत स्वतन्त्रता भएको उल्लेख गर्दै कसैलाई जबर्जस्त धर्म परिवर्तन गराउनु गलत भएको बताए । ‘धर्म मेरो निजी मामला हो, यसमा कसैले हस्तक्षेप गर्नुहुन्न र स्वीकार्य पनि हुन्न,’ बाँस्कोटाले भने ।

उनले धर्म मान्ने विषयमा कसैले कसैलाई छिःछिः र दूरदूर नहुने बताए । ‘कसैको धार्मिक आस्थामाथि विभेद गर्न पाइँदैन,’ बाँस्कोटाले भने । उनले धर्म, जातजाती र भूगोलका आधारमा विभेद गर्न नपाइने कानुनी व्यवस्था रहेको जानकारी दिए ।

नेपालको एकता, आपसी सद्भाव भड्काउन कसैलाई छुट नभएको भन्दै उनले नेपालले धार्मिक सहिष्णुता अंगालेको उल्लेख गरे ।

‘हाम्रो एउटै बस्तीमा अनेक जातजाति र धार्मिक आस्थाका व्यक्ति बस्छन्,’ उनले भने, ‘हामीले एकअर्काको धर्मको सम्मान गर्नु सिक्नुपर्छ,’ उनले भने ।

बाँस्कोटाले सरकारले हरेक विभेदको अन्त्यको सङ्कल्प गरेकाले धार्मिक विचारमाथि हमला गर्नेलाई राज्यले कारबाही गर्न कुनै कसर बाँकी नराख्ने दावी गरे । उनले भने, ‘धर्म नैतिकतामा आधारित हुन्छ, एकअर्को धर्मबीच लडाइँ गर्नुपर्ने कुनै कारण छैन ।’
रासस

प्रकाशित समय १५:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु