गृहपृष्ठ क्षयरोग नियन्त्रण गर्न स्वास्थ्यकर्मी टोल टोलमा

क्षयरोग नियन्त्रण गर्न स्वास्थ्यकर्मी टोल टोलमा

क्षयरोगलाई नियन्त्रण गर्न स्वास्थ्य टोली टोलटोलमा परिचालन हुने भएकाछन् । गण्डकी प्रदेशमा रहेका क्षयरोगीको पहिचान गरी उनीहरुलाई नियमित औषधि खुवाउन स्वास्थ्यकर्मी परिचालन गरिने भएको शनिबार पोखरामा आयोजित पत्रकार भेटघाटमा जानकारी दिइएको हो ।

गण्डकी प्रदेशमा गत आर्थिक बर्ष २०७४ र ७५ मा ३ हजार ५ सय ६० जना क्षय रोगी भएको अनुमान गरिएकोमा २ हजार २ सय ४६ जना बिरामी पत्ता लागेर उपचारमा आएको स्वास्थ्य निर्देशनालयका निर्देशक खिमबहादुर खड्काले बताए ।

निर्देशक खड्काले सन् २०५० सम्ममा क्षयरोगमुक्त समाज निर्माणको परिकल्पना गरिएकोमा सोहि अनुरुप सबैजना आआफ्नो क्षेत्रबाट लाग्नु पर्ने बताए ।
यसैबिच पोखरामा विविध कार्यक्रमका साथ आइतबार विश्व क्षयरोग दिवस मनाइने भएको छ । हरेक वर्ष मार्च २४ का दिन मनाइने यो दिवस यस वर्ष ‘समय अबको क्षयरोग अन्त्यको’ भन्ने मूल नाराका साथ पोखरामा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाईदै छ । स्वास्थ कार्यालय कास्की, क्षेत्रिय क्षयरोग केन्द्र तथा स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराको आयोजनामा पोखरामा बिभिन्न कार्यक्रम गरि मनाउन लागिएको निर्देशक खड्काले बताए ।
दुई हप्ता भन्दा बढी लगातार खोकी लागेमा क्षयरोगको संक्रमण हुन् सक्ने चिकित्सक बताउँछन् । त्यस्ता बिरामीहरुलाई तत्काल नजिकको क्षयरोग केन्द्रमा सम्पर्क राख्न चिकित्सकहरुले आग्रह गरेका छन् । क्षयरोग भएको व्यक्तिलाई लगातार खोकी लाग्ने, छाति दुख्ने, ज्वरो आउने, खकारमा रगत देखिने, राति पसिना आउने, थकाई लाग्ने, तौल कम हुँदै जाने जस्ता समस्या देखिने चिकित्सकहरु बताउछन् । क्षयरोगको लक्षण देखिएमा तत्काल औषधि उपचार गरे रोग निको हुने चिकित्सकहरुको भनाई छ ।

चिकित्सकका अनुसार क्षयरोगको बिरामीले ६ महिनासम्म निरन्तर औषधिको सेवन गर्नुपर्दछ । उपचार सुरु गरेर औषधिको नियमित सेवन नगरेमा झन् कडा खालको संक्रमण हुने र ज्यानै जान सक्ने भएकाले औषधिको नियमित सेवन गर्नुपर्नेमा चिकित्सकहरुले जोड दिँदै आएका छन । क्षयरोगको औषधि उपचार नेपालमा निशुल्क रुपमा हुदै आएको छ ।

प्रकाशित समय २१:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु