गृहपृष्ठ श्रम कार्यालय बुटवलमा कर्मचारीको अभाव, सेवाग्राहीले पाएनन् सेवा

श्रम कार्यालय बुटवलमा कर्मचारीको अभाव, सेवाग्राहीले पाएनन् सेवा

प्रदेश ५ मा रहेको श्रम तथा रोजगार कार्यालयमा कर्मचारीको अभाव हुँदा सेवाग्राही मारमा परेका छन् । बुटवलको चाँदबारीमा रहेको कार्यालय अहिले सीप विकास तालिम केन्द्र बुटवल–१० रामनगरमा सारिएको छ । कार्यालय फराकिलो ठाउँमा सारिए पनि कार्य सम्पादनमा ढिलाइ हुने गरेको छ । प्रदेश ५ को सबै जिल्लाबाट सेवाग्राही सेवा लिन सो कार्यलयमा आउने गरेका छन् । तर, कर्मचारीको अभावमा सेवाग्राहीले प्रभावकारी सेवा पाउन सकेका छैनन् ।

गुल्मीबाट आएका केशव श्रेष्ठले श्रम कार्यालयको काम चुस्त नभएको गुनासो गरे । ‘कार्यालयबाट काम छिटो होला भन्ने थियो, पुरै दिन बित्यो काम भएन’ उनले भने । केही दिन अघिसम्म पहिलो दिनमै काम हुने गरेको थियो । तर आजभोली बिहानै पगेका सेवाग्राही पनि टोकन मात्र लिएर फर्किने गरेका छन् । कार्यालयले अर्को दिन आउनु भन्दै टोकन दिएर पठाउने गरेको सेवाग्राहीको भनाइ छ । दैनिक १ सय ५० जनाले मात्र टोकन पाउने गरेका छन् ।

यता, श्रम तथा रोजगार कार्यालय बुटवलका निमित्त प्रमुख बालकृष्ण थापाले पहिलाका तुलनामा अहिले सेवा ग्राहीलाई सेवा दिन नसकिएको स्वीकार गरेका छन् । कर्मचारीको समायोजनका कारण सेवा दिन नसकिएको उनको भनाइ छ । प्रमुख थापा भन्दछन्, ‘पहिले सेवा ग्राहीहरुको चाँप कम हुन्थो, अहिले चाँप बढेको छ, कर्मचारीको संख्या कम छ । त्यसैले सेवा प्रवाहमा केही ढिलाई भएको छ । ’

कर्मचारी समायोजनको कारण कार्यालय प्रमुख पनि सरुवा भएका छन् । दुई वटा शाखा अधिकृत हुनुपर्नेमा एउटा मात्रै शाखा अधिकृतले काम चलाउनुपरेको छ । थापाका अनुसार १४ जना दरबन्दी रहेको कार्यालयमा अहिले कर्मचारीको अभाव भएको जानकारी विभाग र मन्त्रालयमा पत्र पठाइएको छ । १४ जना दरबन्दी रहेको कार्यालयमा हाल कार्यालय प्रमुख छैनन् ।

त्यस्तै दुई जना शाखा अधिकृतमा एक जना मात्रै कार्यरत छन् । एक जना कारखाना निरीक्षक पनि कर्मचारी समायोजन भएर प्रदेश २ मा जाने तयारीमा छन् । त्यस्तै दुई जना नायब सुब्बा मध्ये एक जना समायोजन भएर गएका छन् । सेवाग्राहीले १०/१५ दिन अघि नै आएर आफ्नो श्रमको कार्य गर्नुपर्ने हो ।

तर, विदेश उड्ने अघिल्लो दिन आउने गरेकाले पनि समस्या भएको छ । यदि कुनै कारणले इन्टरनेटमा समस्या आएमा, सर्भर डाउन भएमा काम रोकिन सक्छ । त्यसैले समयमै सेवाग्राही सचेत हुनुपर्ने निमित्त प्रमुख थापा बताउँछन् । रुपन्देही र नजिकका जिल्लाका सेवा ग्राहीहरुलाई समस्या नभएपनि गुल्मी, पाल्पा अर्घाखाँची, प्युठान, रोल्पा, रुकुमबाट आउने सेवाग्राहीलाई समस्या भएको छ ।

प्रकाशित समय ११:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु