गृहपृष्ठ सुनसरी भोक्राहामा स्थानीय युवा र प्रहरीबीच गोली हानाहान
सुनसरी भोक्राहामा स्थानीय युवा र प्रहरीबीच गोली हानाहान
स्थानीय जनप्रतिनिधिले कुरा मिलाउन नसकेपछि जिप्रकामा छलफल
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा शुक्रबार अपरान्ह ४ बजे प्रहरी र स्थानीय युवाबीच गोली हानाहान भयो । केही स्थानीयबासीले भारतीय बजारबाट सामान किनेर ल्याउँदै थिए । त्यसक्रममा प्रहरीले उनीहरुलाई सोधपुछ गर्यो । प्रहरीले अलि कडा स्वर गर्दै हेपाहा शैलीमा सोधेपछि सामान आयातकर्ताले पनि उसैगरी जवाफ फर्काए । विवाद बढ्यो । झण्डै हात हालाहालको स्थिति बनेपछि नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक चन्द्रकुमार शाक्यले ‘चार्ज’ गर्न आदेश दिए ।
स्थानीय जियाबुल मन्सुरसहितको युवा टोलीले पनि प्रतिकार गर्ने चेतावनी दियो । विवाद बढ्दै गएपछि प्रहरीले चार्ज सुरु गर्यो । युवाहरुको टोलीलाई केही स्थानीयबासीले पनि साथ दिए र सुरु भयो झडप ।
प्रहरीका अनुसार झडपका क्रममा भुइँमा झरेको शाक्यको पेस्तोल उठाएर स्थानीय एक युवाले प्रहरीलाई नै प्रहार गरेका थिए । त्यसपछि प्रतिरक्षामा गोली चलाइएको स्थानीय प्रहरीले जनाएको छ । झडपमा परी सई शाक्यसहित स्थानीय मन्सुर घाइते भएका छन् । उनीहरुको हातमा चोट लागेको र धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको बताइएको छ ।
स्थानीयबासीले भने प्रहरीले निर्दोषमाथि गोली चलाएपछि प्रतिकार गर्नुपरेको बताएका छन् । उनीहरुले प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरेका छन् ।
प्रकाशित समय ०९:५८ बजे

















