गृहपृष्ठ रुपन्देहीमा स्थायी देवदह मण्डप कहिले ?
रुपन्देहीमा स्थायी देवदह मण्डप कहिले ?
तत्कालीन नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनले रुपन्देहीको देवदहमा पहिलोपटक मेला महोत्सव आयोजना गर्ने जमर्को गर्यो । स्थायी प्रदर्शनी केन्द्रको अभावमा उद्योग व्यापार संगठनले पहिलोपटक पानबारीमा रहेको खेलमैदानमा मेला आयोजना गरेको थियो ।
दुई सय ५० वटा स्टल राखिएको उक्त मेला महोत्सव देवदहमा पहिलो प्रयास थियो । त्यसपश्चात देवदह उद्योग वाणिज्य संघ, देवदह व्यापार संघले निरन्तर मेला महोत्सव आयोजना गर्दै आएका छन् । देवदहमा रोचक कुरा के छ भने प्रत्येक वर्ष फरक–फरक संघ–संस्थाले मेला महोत्सव आयोजना गर्ने भए पनि सुरुवाती मेला आयोजना गरिएको वर्षलाई प्रथम र दोस्रोपटक फरक संस्थाले आयोजना गरेकोलाई पनि दोस्रो मेला महोत्सवको नामकरण गर्दै आएका छन् ।
पानबारीमा रहेको खेलमैदान मेला तथा महोत्सव आयोजना गर्न अनुपयुक्त भएपछि देवदह उद्योग वाणिज्य संघको पहलमा विभिन्न राजनीतिक दलका प्रतिनिधि र सरोकारवाला संघ–संस्थाहरुको सहयोगमा हाल प्रस्तावित देवदह मण्डपको रुपमा रहेको स्थानमा पहिलोपटक देवदह उद्योग वाणिज्य संघले मेला आयोजना गर्यो ।
देवदहमा दोस्रोपटक तथा प्रगति सामुदायिक वनको जग्गा रहेको भुलही खोलानजिकै महोत्सव आयोजना गरियो । देवदह उद्योग वाणिज्य संघका अध्यक्ष गोपालप्रसाद ढकालका अनुसार खोलाको स्थानमा मोला तथा महोत्सव आयोजना गर्ने स्थानसम्म पुर्याउनका लागि करिब १३ लाख रुपैयाँ सुरुवाती वर्षमै खर्च भइसकेको छ । त्यतिबेला करिब तीन सय स्टल निर्माण गरेको उद्योग वाणिज्य संघले अर्ध अस्थायी संरचनाको रुपमा शौचालयसमेत निर्माण गरेको थियो ।
अन्य सबै स्टल तथा स्टेज, सचिवालय सबै अस्थायी संरचना बनाएर मेला आयोजना गरिएको थियो । देवदह मण्डवको रुपमा विकास गर्ने गरी १० बिघा क्षेत्रफल रहेको प्रगति सामुदायिक वनको किनाराको जग्गामा हालसम्म स्थायी प्रकृतिको संरचना (प्रदर्शनी स्थल) निर्माण हुन सकेको छैन । अहिले मेला तथा महोत्सव नगरपालिका केन्द्रित छन् ।
यसरी आयोजना गरिने मेला महोत्सवमा लाखौं रुपैयाँ अस्थायी संरचनामा खर्च हुने गरेको छ । देवदह उद्योग वाणिज्य संघका अध्यक्ष ढकालका अनुसार अब मेला महोत्सव आयोजना गर्ने संस्थाले कुुनै न कुनै स्थायी प्रकृतिको एउटा–एउटा भए पनि प्रदर्शनी स्थलमा संरचना निर्माण गरिने भएको छ । उनी भन्छन्, ‘देवदह मण्डप अब स्थायी रुपमै बन्नुपर्छ भन्ने हाम्रो मान्यता हो, नगरपालिका र सबै संघसंस्था तथा दलहरुले यसमा साथ दिएका छन्, यसमा हाम्रो पनि विशेष सहयोग हुनेछ ।’
फागुन १६ देखि २७ गतेसम्म आयोजना हुने पाँचौं देवदह महोत्सवमा पनि एउटा भए पनि स्थायी प्रकृतिको संरचना निर्माणमा आफूहरु लाग्ने अध्यक्ष ढकाल बताउँछन् । देवदह मण्डपको गुरुयोजना समेत निर्माण भैसकेको अवस्थामा देवदह उद्योग बाणिज्य संघले नै मेला स्थालमा छुट्टै विद्युतीय ट्रान्समीटर समेत जडान गरेको छ । सबै मेला तथा महोत्सव आयोजना गर्ने स्थायी स्थानको रुपमा निर्माण गरिने गरी अगाडी बढाउने योजना रहेको छ ।
देवदह नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ को बजेट पुस्तिकामै उल्लेख गरी देवदह नगरपालिका–९ मा रहेको प्रदर्शनी स्थलको संरक्षण एवं सम्वर्धन कार्य अगाडि बढाउने उल्लेख गरेको छ । नगरपालिकाका प्रमुख हीराबहादुर खत्रीले देवदह मण्डपको गुरुयोजना अगाडि बढेको भन्दै यसमा गुरुयोजना अनुरुप नगरपालिकाले योजना बनाएर काम गर्ने जानकारी दिए ।
प्रकाशित समय ११:१७ बजे


















