गृहपृष्ठ प्रदेश ५ : शिक्षकहरुले घेरे सामाजिक विकास मन्त्रालय

प्रदेश ५ : शिक्षकहरुले घेरे सामाजिक विकास मन्त्रालय

आन्दोलनरत नेपाल शिक्षक महासंघले प्रदेश नम्बर ५ को सामाजिक विकास मन्त्रालय घेराउ गरेका छन् । २६ सूत्रीय माग राखेर उनीहरु बुटवल बस पार्कमा रहेको सामाजिक विकास मन्त्रालय अगाडि धर्नामा बसेका हुन् । शिक्षकहरु बस पार्कको मुख्य गेटमै धर्नामा बसेकाले कुनै पनि सवारी साधन प्रवेश गर्न पाएका छैनन् ।

महासंघले शिक्षा सम्बन्धी स्थानीय तहले ऐन तथा कानुन बनाउने काम रोक्नुपर्ने, दश वर्ष एउटै तह र श्रेणीमा कार्यरत शिक्षकहरुलाई सामूहिक पदोन्नतिको व्यवस्था गर्नुपर्ने, उच्च माविमा कार्यरत शिक्षकहरुको दरबन्दीको प्रवन्ध गरी स्थायी गर्नुपर्ने, राहत शिक्षकलाई स्थायी दरबन्दीमा रुपान्तरण गर्नुपर्नेलगायतका माग गरेका छन् ।

आफ्ना मागप्रति सरकारले बेवास्ता गरेको र पटक–पटक ध्यानर्कषण गराउँदा समेत सुनुवाई नभएपछि धर्नामा बस्न बाध्य भएको शिक्षक महासंघ प्रदेश ५ का संयोजक प्रेमप्रसाद भण्डारीले बताए । संयोजक भण्डारीले माग पूरा नभए थप कडा आन्दोलन गर्ने चेतावनी समेत दिए । महासंघले रुपन्देहीमा रहेका सबै सामुदायिक विद्यालयलाई बन्द गरेर आन्दोलमा आउन आग्रह गरेको छ । शिक्षकहरुको आन्दोलनले विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।

प्रकाशित समय १३:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु