गृहपृष्ठ प्यूठान नगरपालिका-२ का वडा अध्यक्षको निधन
प्यूठान नगरपालिका-२ का वडा अध्यक्षको निधन
प्यूठान नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष खिम बहादुर विष्टको निधन भएको छ । विगत एक वर्षदेखि फोक्सोको क्यान्सरबाट पीडित विष्टको शुक्रबार निधन भएको हो । फलोअपका लागि चितवन लैजाँदै गर्दा दाउन्ने नजिकै उनको मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ ।
५८ वर्षिय विष्ट स्थानीय तह निर्वाचनमा साविकको एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए । विष्टका श्रीमती, दुर्इ छोरा र दुई छोरी छन् । स्वर्गिय विष्टको शनिबार २ नम्वर वडा कार्यालयमा अन्तिम श्रद्धाञ्जली गरी अन्तिम दाहासंस्कार गर्ने कार्यक्रम रहेको प्यूठान नगरपालिका नगरप्रमुख अर्जुनकुमार कक्षपतीले बताए ।
साविकको नेकपा माओवादी, राष्ट्रिय जनमोर्चा र नेपाली कांग्रेसको गठवन्धनलाई तोड्दै विष्ट वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनले ८ सय र प्रतिस्पर्धी माओवादीका हरी बिएमले ६ सय ४५ मत पाएका हुन् ।
गाउँको विकासलाई नजिकसँग बुझेका विष्ट सालिन स्वभावका थिए । तत्कालिन ०४६ सालमा नेकपा मालेमा आवद्ध उनी दाखाक्वाडी गाउँकमिटीको संस्थापक थिए । पारिवारमा सदस्यहरु विभिन्न पार्टीमा आस्था राखे पनि उनी निरन्तर कम्यूनिस्ट पार्टीमै सक्रिय रहे ।
कानुनी प्रावधान अनुसार रिक्त पदमा ६ महिनापछि पूनः निर्वाचन गराउने व्यवस्था रहेको नगरप्रमुख कक्षपतीले बताए ।
प्रकाशित समय १८:१३ बजे

















