गृहपृष्ठ ‘हेमोफिलिया’ को औषधि निःशुल्क वितरण गर्न माग
‘हेमोफिलिया’ को औषधि निःशुल्क वितरण गर्न माग
सरोकारवालाहरुले अनुवंशीय रक्तश्राव (हेमोफिलिया) रोगबाट पीडितहरुलाई निःशुल्क औषधि वितरण गर्न माग गरेका छन् । नेपाल हेमोफिलिया सोसाइटीले शुक्रबार विराटनगरमा आयोजना गरेको कार्याक्रममा उनीहरुले हेमोफिलिया रोगको औषधि महंगो भएकाले नियमित सेवनका लागि सरकारले निःशुल्क उपलब्ध गराउन माग राखेका हुन् ।
नेपाल हेमोफिलिया सोसाइटी सुनसरीका अध्यक्ष पुष्पलाल तामाङले औषधि मंहगो भएकाले सबै रोगीले किनेर खान नसक्ने अबस्था रहेको बताए । कार्यक्रममा हेमोफिलिया सोसाइटीका सदस्य डा. प्रेम देवानले राजधानी वाहिर हेमोफिलियाको परीक्षण र उपचार सेवा नहुँदा समस्या भएको जानकारी दिए ।
उनका अनुसार राजधानीको वीर, सिभिल, त्रिविवि शिक्षण अस्पताल र अल्का अस्पतालमा मात्रै यसको सेवा उपलब्भ छ । डा. देवानका अनुसार उपचारमा पहुँच नहुँदा दुर्गम क्षेत्रका प्रभावितले रोग लुकाएर बस्ने अहिले पनि बाध्यता छ । हेमोफिलिया भएका व्यक्तिलाई कुनै शारीरिक चोटपटक लागेमा रक्तस्राव रोकिँदैन आन्तरिक रूपमा हुने रक्तस्रावका कारण पनि बिरामीको जीवन खतरा भइरहन्छ, रगत नरोकिएकै कारण मृत्यु पनि हुन सक्छ ।
कार्यक्रममा दिइएको जानकारी अनुसार मुलुकभर ६ सय ५० जना हेमोफिलिया व्यक्ति छन् । त्यसैगरी प्रदेश-१ का १४ जिल्लामा मात्र ८० जना हेमोफिलियाका रोगी रहेका छन् । हेमोफिलिया रोगीका लागि अहिले विदेशी दाताले उपलब्ध गराउँदै आएको औषधि मात्र नेपालमा आउने गरेको छ ।
प्रकाशित समय १८:०७ बजे

















