गृहपृष्ठ प्रदेश-५ ले मनायो ‘प्रदेशसभा दिवस’
प्रदेश-५ ले मनायो ‘प्रदेशसभा दिवस’
प्रदेश-५ को प्रदेशसभाले पहिले बैठक बसेको दिन प्रदेशसभा दिवस मनाएको छ । अघिल्लो वर्ष माघ २१ गते प्रदेशसभाको पहिलो बैठक बसेको थियो । सोही दिनको सम्झनामा प्रदेशसभा दिवस मनाइएको हो ।
प्रदेश प्रमुख उमाकान्त झाले पूर्वाधार, जनशक्ति अभावको बाबजुत प्रदेशसभाले गरेको कार्यको मूल्यांकन गर्नुपर्ने बताएका छन् । उनले प्रदेशमा संरचना स्थापना गर्नको लागि नै केही समय लागेको भन्दै अभावको बाजबुत गरिएको कार्यहरु सन्तोषजनक रहेको धारणा राखे । उनले समृद्ध नेपाल, सुखी नेपालीको नारालाई साकार पार्ने दायित्व सबैको रहेको भन्दै यसमा सबैले साथ दिनुपर्ने बताए ।
कार्यक्रममा मुख्यमन्त्री शंकर पोखरेलले अभावको बाबजुत प्रदेश सरकारले धेरै काम गरेको धारणा राखे । उनले प्रदेशको राजधानी र नामको विषयमा बाहिर सडकमा बहस गर्ने विषय नभएको टिप्पणी गरे । उनले प्रदेशसभाको काम नै प्रदेशको नामाकरण र राजधानी टुंगाउने दायित्व भएको भन्दै यसमा अनावश्यक टिका टिप्पणी आवश्यक नभएको तर्क गरे । राजधानी कहाँ बनाउने भन्दा पनि कस्तो बनाउने भन्ने विषयमा सोच्न आवश्यक रहेको भन्दै मुख्यमन्त्री पोखरेलेले भावि सन्ततीको लागि पनि नमुनाको रुपमा राजधानी बनाउनुपर्ने बताए ।
कार्यक्रममा प्रमुख प्रतिपक्षि नेपाली कांग्रेसका नेता बलदेव शर्मा पोखरेलले सरकारले १६ वटा विधेयक बनाउनु बाहेक अन्य कुनै पनि काम गर्न नसकेको भन्दै आलोचना गरे । उनले सरकारले संघीयतालाई नै धरापमा पार्ने गरी कार्य गरेको भन्दै यसको विरोध समेत गरे ।
कार्यक्रममा सभामूख पुर्ण बहादुर घर्तीले सबैको साथ र सहयोगबाट नै अगाडि बढ्ने सरकारको योजना अनुसार नै अहिलेको सरकार अगाडि बढेको बताए । उप सभामुख कृष्णी थारुले पनि सरकारको काम सन्तोषजनक भएको भन्दै सबैको साथबाट नै नमुना काम गर्न सक्ने बताईन् ।
कार्यक्रममा उत्कृष्ट कर्मचारीको रुपमा सचिवालयका कम्प्युटर अधिकृत मनोज कुमार पाण्डेय, नायव शुब्बा दिवाकर पन्थी, मर्यादापालक जवान ओम प्रकाश डांगी, कार्यालय सहयोगी कल्पाना विष्ठ लाई नगद सहित सम्मान गरिएको थियो ।
वि.सं. २०७४ माघ २१ गते प्रदेश सभा बैठक पहिलो पटक बसेको थियो । पहिलो बैठक २८ घण्टा, ३३ मिने २० सेकेण्ड बसेको थियो । २८ पटक बैठक बसेको थियो । वि.सं. २०७४ असार २४ गते सम्म पहिलो अधिवेसन बसेको थियो । जसमा ११ विधेयक दर्ता भएका थिए ।
दोस्रो अधिवेसन मंसिर २६ गतेबाट बसेको थियो । जुन १३ घण्टा, ३२ मिनेट बसेको थियो जसमा जम्मा १३ वटा बैठक सम्पन्न भएका थिए । जसमा कुल १४ विधेयक दर्ता भएका थिए ।
प्रकाशित समय २१:३१ बजे

















