गृहपृष्ठ प्रदेश-५ सिसी क्यामेराको घेरामा
प्रदेश-५ सिसी क्यामेराको घेरामा
फाइल तस्बिर
भारतीय सीमा नाका सिद्धार्थनगर बेलहिया, पूर्वबाट प्रदेश-५ को प्रवेशद्वार बर्दघाट नवलपरासी, पश्चिमको प्रवेशद्वार चिसापानी बर्दिया साथै प्रदेशका मुख्य र महत्पूर्ण स्थानहरुमा प्रदेश सरकारले नै सिसिटिभी क्यामेरा जडान गर्ने भएको छ ।
प्रदेशको सुरक्षाको लागि मुख्य-मुख्य नाकासहित मुख्य-मुख्य सहरका मुख्य-मुख्य स्थानहरुमा यस्तो प्रकृतिको सिसी क्यामेरा जडान हुनेछन् । रुपन्देहीको दुई तीन स्थानमा भने ठाउँ नै निर्क्यौल गरिएको छ ।
सिद्धार्थनगर नगरपालिका भारतीय सीमा नाकाको बेलहिया, बुटवलको राजमार्ग चौराह, ट्राफिक चौक, बाँकेको नेपालगञ्ज सहजर दाङको भालुवांग, कुसुम खोला लगायतका स्थानहरुमा प्रदेश सरकारले सिसी क्यामेरा जडान गर्ने भएको हो ।
प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुल प्रसाद केसीले मुख्य-मुख्य स्थानमा पहिलो चरणमा ३० वटा स्थानमा सिसी क्यामेरा जडान गर्न लागिएको जानकारी दिए । उनले सुरक्षाको दृष्टिकोणबाट महत्पूर्ण मानिएको स्थानहरुमा सिसी क्यामेरा जडान गर्ने निर्णय गरिएको उल्लेख गरे ।
केसीले भने, ‘चौथो चौमासिकमा एकै पटक सुरु गर्नेछौं, यसले दुर्घटना, चोरी दकैटी लगायत सुरक्षाको दृष्टिकोणले थप प्रमाण जुटाउन सहयोग गर्नेछ ।’
पछिल्लो समयमा विभिन्न चोरी, डकैती लगायतका विभिन्न अपराधिक क्रियाकलाप नियन्त्रणमा सहयोगी उपकरणको रुपमा प्रयोग हुने भएको कारण प्रदेश सरकारले नै यसमा अग्रसरता देखाएको जनाएको छ ।
२ करोड रुपैयाँ विनियोजन गरिएकोमा पहिलो चरणमा एक करोड रुपैयाँ खर्च गरिनेछ । अहिले स्थान पहिचानको लागि जिल्लामा रहेका प्रहरी कार्यालयहरुले सर्वेक्षण गरिरहेका छन् । अलि बढी सुरक्षा थ्रेट भएको स्थान पहिचान गरेर सिसी क्यामेरा राखिनेछ ।
दुर्घटनाको दर न्युनिकरण गर्न यसले थप टेवा पुग्ने विश्वास प्रदेश सरकारको छ । मन्त्री केसी भन्छन्, ‘यसका लागि बजेट अभाव छैन, २ करोडसम्म रकम खर्च गर्न सकिने गरी यथेष्ठ बजेट विनियोजन गरेका छौं ।’
यसरी जडान गरिएको सिसी क्यामेरा प्रदेशबाट निरन्तर रुपमा रेखदेख हुनेछन् । आवश्यकताको आधारमा अझै बढी थप्न सकिने जनाइएको छ ।
प्रकाशित समय २०:२३ बजे

















