गृहपृष्ठ गण्डकी प्रदेशको लगानी सम्मेलन अन्यौलमा

गण्डकी प्रदेशको लगानी सम्मेलन अन्यौलमा

kiran_gurung_newskarobar

गण्डकी प्रदेशमा यस वर्ष हुने भनिएको लगानी सम्मेलन अन्यौलमा परेको छ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा यस वर्ष हुने भनिएको लगानी सम्मेलन अन्यौलमा रहेको बताए ।

समयमै योजना नभएको र तयारी कम भएकोले गर्दा यस वर्ष हुने भनिको लगानी वर्ष अन्यौलमा भएको भन्दै उनले घुमाउरो पारामा यस्तो संकेत गरेका हुन् । संघीय सरकारले पनि यसै वर्ष लगानी सम्मेलन गर्ने भएकोले त्यसलाई हेरेर वा आधार मानेर मात्र प्रदेश सरकारले लगानी सम्मेलन गर्ने मन्त्री गुरुङले जनाए ।

‘हामीले यसै वर्षमा लगानी सम्मेलन गर्ने भनेका थियौं, तर यस बर्ष हामीले लगानी सम्मेलन गर्न सक्ने अबस्थामा छैनौं,’ उनले भने, ‘प्रोजेक्टहरु पनि छैनन्, विना प्रोजेक्ट हामीले लगानी सम्मेलन गर्नुको कुनै अर्थ हुँदैन ।’ प्रदेश सरकारले यसै वर्ष लगानी सम्मेलन आयोजन गर्ने भनी १ करोड रुपैयाँ विनियोजन गरेको छ ।

आफूहरु विदेश भ्रमणमा जाँदा नेपालमा लगानी मैत्रि कानुन भएको गुनासो गरेकोले आफूहरुले लगानी मैत्री कानुन बनाउने तयारी गरेको मन्त्री गुरुङले जनाए । विदेशबाट पोखरालाई स्मार्ट सिटिको रुपमा विकास गर्न केहि देशहरुले चासो दिएको उनले बताए । पोखराको ट्राफिक व्यबस्थापन तथा यातयात क्षेत्रमा लागनी गर्न खोजेको मन्त्री गुरुङले जनाए । प्रदेश सरकार शुन्यबाट सुरु भएकोले एक वर्षमा नीति, नियम र कानुन बनाउँदै समय खर्चिन परेकोले अब भने विस्तारकै विकासले गति लिने उनले दावी गरे ।

आर्थिक वर्षमा हालसम्म पुँजीगत तर्फ करिब ५ प्रतिशत मात्र खर्च भएको उनले जानकारी दिए । उनले यस आर्थिक वर्षमा ७० प्रतिशत खर्च गर्ने लक्ष्य राखेको बताए । नेपाल पत्रकार महासंघको साधारणसभा तथा विधान अधिवेशनको अवसरमा फागुन ९ गते प्रदेश सरकारले आन्तरिक भ्रमण वर्षको कार्यक्रम औपचारिक रुपमा उद्घाटन गर्ने भएको छ । उक्त कार्यक्रमको अवसरमा प्रदेश सरकारले आफ्नो कार्यक्रम सहित महासंघलाई सहयोग हुने गरी २३ लाख बजेट विनियोजन गरेको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सपथ लिएको फागुन ४ गते एक वर्ष पुग्ने भएकोले उक्त दिनमा प्रदेश सरकारले बार्षिकोत्सव समारोहमा एक वर्ष भरी सरकारले गरेका कार्यक्रम समेत सार्वजनिक गर्ने भएको मन्त्री गुरुङले जनाए । दिउँसो ११ बजे देखि सुरु हुने कार्यक्रममा प्रगती विवरण, सांस्कृतिक कार्यक्रम, उत्कृष्ट कर्मचारी सम्मान सहितका कार्यक्रम हुने भएको मन्त्री गुरुङले बताए ।

प्रकाशित समय १९:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु