गृहपृष्ठ अबधि सकिन लाग्दा सुरु भएन सुर्खेतको चक्रपथ
अबधि सकिन लाग्दा सुरु भएन सुर्खेतको चक्रपथ
सुर्खेत उपत्यकाको चक्रपथ दुई वर्षभित्रै निर्माण गर्ने गरी २०७४ चैत २३ मा ठेक्का सम्झौता भयो । सम्झौता मिति सकिन केही महिनामात्रै बाँकी रहँदा अझै चक्रपथको काम शुरु हुन सकेको छैन । सडक डिभिजन कार्यालय सुर्खेतले ठेक्का व्यवस्थापन गरेको चक्रपथको काम केही महिना संघले हेर्ने कि प्रदेशले भन्ने बिवादमा अल्झियो । केही समय संघियतामा अल्झिएको सुर्खेत उपत्यका चक्रपथ भने अहिले जग्गा बिवादमा अल्झिएको छ । गत फागुनमा प्रदेश मातहतको चौरजहारी सडक डिभिजनले चक्रपथको काम हेर्ने गरी जिम्मा पाएको छ । तर काम सक्नुपर्ने मिति नजिकिंदै जाँदा चक्रपथको काम शुरु भएकै छैन ।
चौरजहारी सडक डिभिजनका प्रमुख नरेन्द्र भट्ट जग्गा बिवादका कारण चक्रपथको काम रोकिएको बताउँछन् । उनले भने ‘वीरेन्द्रनगर चक्रपथको काममा निजी जग्गा धनीहरुको विवाद छ । त्यसैले काम अगाडि बढ्न सकेको छैन ।’ अधिकांश क्षेत्रमा जंगलसमेत पर्दछ । उनले थपे ‘बन क्षेत्रको वातावरणीय परीक्षणको काम सञ्चालनमा छ । जग्गा तथा वन क्षेत्रको विवाद समाधान हुनेबित्तिकै चक्रपथको काम शुरु हुनेछ ।’ उनका अनुसार चक्रपथभित्र पर्ने जग्गा अधिकांश एलानी भएको र बिवाद समाधानको लागी वीरेन्द्रनगरका प्रमुखसहितको टोली धेरैपटक छलफलमा बसिसकेको छ ।
सुर्खेत उपत्यका चक्रपथ निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी खड्का–कृष्ण, क्याराभान ज्वाईन्ट भेन्चरका ठेकेदार सचिन थापाले भने सम्बन्धित कार्यालयले कामको आदेश नदिएकाले कारणमा ढिलाई भएको बताए । उनले भने ‘सुर्खेत उपत्यका चक्रपथभित्रको बाटोको ९५ प्रतिशतभन्दा बढी भागमा बिवाद छ । ५० प्रतिशतभन्दा बढि वन क्षेत्र पर्छ । चक्रपथको बिवाद समाधान गरेर सम्बन्धित कार्यालयले कामको आदेश दिने बित्तिकै काम सुचारु गर्नेछु । चक्रपथ कति मिटर चौडा गराउने भन्ने विषयमा नै कार्यालय अन्यौलमा छ ।’
उनका अनुसार सडक डिभिजनले बैशाखको पहिलो साताभित्रै चक्रपथको बिवाद समाधान गरी काम अगाडि बढाउने आश्वासन दिएको छ । उता वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देबकुमार सुबेदीले ३० मिटरको चौडाईमा चक्रपथ निर्माण गर्ने गरी नगरसभाले निर्णय गरेको बताए ।
ग्राबेलसम्म गर्न१३ करोड ५३ लाख ५२ हजारको लगानीमा निर्माण हुने चक्रपथ २९ किलोमिटरको हुनेछ । यसको चौडाइ १५ मिटरको हुने चौरजहारी सडक डिभिजन कार्यालयले जानकारी दिएको छ ।
प्रकाशित समय १७:५८ बजे
















