गृहपृष्ठ रातो पासपोर्ट काण्डमा मुछिएका पूर्वसांसद यादव फेरि अर्को कीर्तेमा
रातो पासपोर्ट काण्डमा मुछिएका पूर्वसांसद यादव फेरि अर्को कीर्तेमा
नक्कली उपभोक्ता समिति बनाएको आरोपमा पक्राउ
पूर्वसांसद विश्वनाथप्रसाद (विपी) यादव फेरि अर्को कीर्ते काण्डमा मुछिएका छन् । नक्कली उपभोक्ता समिति बनाएको आरोपमा उनलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । यादव सांसद रहेकै बेला रातो पासपोर्ट बेचेको काण्डमा मुछिएका थिए ।
उनले सप्तरीमा नक्कली उपभोक्ता समिति बनाएर खाता समेत खोलेको आरोपमा प्रहरीले पक्राउ गरेको बताएको छ । प्रदेश २ सरकारको योजना गाउँलेलाई थाहै नदिइ नक्कली उपभोक्ता समिति बनाएर उनले हत्याउने प्रयास गरेको प्रहरीले आरोप लगाएको छ ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको केन्द्रीय सदस्यसमेत रहेका बीपी यादवले २५ लाखको योजना ल्याउन कीर्ते गरेर उपभोक्ता समिति गठन गरेका थिए । नक्कली उपभोक्ता समिति बनाएर उनले प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रालयबाट योजना ल्याएका थिए । भौतिक पूर्वाधार विकास मन्त्रालयमा राजपाकै नेता जितेन्द्र सोनल मन्त्री छन् । यादवले मन्त्रालयबाट सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका २ र ३ मा पर्ने सडक ग्राभेल गर्ने योजना ल्याएका थिए ।
उक्त योजना उपभोक्ता समिति गठन गरेर मात्र संचालन गर्न सकिने भएपछि गाउँपालिकाको नक्कली लेटर प्याडमा नक्कली समिति बनाएको पाइएको थियो । नक्कली उपभोक्ता समितिसँग राजविराजस्थित पूर्वाधार विकास कार्यालयले सडक ग्राभेल योजनाको सम्झौता भएको थियो । नक्कली समितिले बैंक खातासमेत खोलेर काम शुरु गरेपछि स्थानीय बासिन्दाले सोधखोज गरेका थिए । त्यसपछि यादवले नक्कली उपभोक्ता समिति बनाएको रहस्य खुलेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १८:४१ बजे
















