गृहपृष्ठ सुर्खेत कारगारमा क्षमता भन्दा चारगुणा बढी कैदी

सुर्खेत कारगारमा क्षमता भन्दा चारगुणा बढी कैदी

surkhet-karaghar-newskarobar

सुर्खेत कारागारमा क्षमता भन्दा चार गुणा बढी कैदी तथा बन्दीलाई राखिँदै आएको छ । जसका कारण कैदी तथा बन्दीहरु कारागारभित्रै कोचिएर बस्न बाध्य हुनु परेको छ ।

सुर्खेत कारागारको क्षमता पचास जना कैदी तथा बन्दीको मात्रै हो । तर अहिले ५० जना क्षमता भएको कारागारमा एक सय ९७ जना कैदी तथा बन्दीहरुलाई राखिँदै आएको छ । ५० जना क्षमताको भवनमा झण्डै २ सय कैदी तथा बन्दीलाई कोचाकोच गरेर राखिँदा आधारभूत मानवीय आवश्यकता परिपूर्तिमा पनि समस्या भएको कारागार प्रशासनले बताएको छ ।

क्षमता भन्दा चार गुणा बढी कैदी तथा बन्दी राख्नुपर्दा थुप्रै समस्या व्यहोर्नु परेको कारागार कार्यालय सुर्खेतका जेलर लालबहादुर खत्रीले बताए । ‘कारागारको क्षमता ५० जना कैदीको मात्रै हो । एक सय ९७ जना कैदीहरु बस्नु पर्दा ठूलो समस्या भएको छ,’ उनले भने, ‘कैदीहरु पालो गरेर सुत्न बाध्य छन् ।’

अहिले सुर्खेत कारागारमा एक सय ५९ कैदी छन् भने बाँकी थुनुवा रहेका छन् । त्यसमा १७ जना महिला कैदी छन् भने १ सय ४२ पुरुष कैदी छन् ।

५७ जना कैदीहरु जबर्जस्ती करुणीको मुद्दाका रहेको कारागारले बताएको छ । जबरजस्ती करुणीकै मुद्दामा ८ जना थुनुवा छन् । कारागारमा विभिन्न मुद्दामा थुनुवामा रहेका ३६ पुरुष र २ महिला गरी ३८ थुनुवा छन् ।

जबरजस्ती करणीपछि कारागारमा कर्तव्य ज्यान मुद्दाका कैदी छन् । कर्तव्य ज्यान मुद्दाका कैदी तथा थुनुवा गरी कारागारमा ४३ बन्दी छन् । कर्तव्य ज्यानमा थुनुवा ५ पुरुष र ३० कैदीसहित ३५ पुरुष छन् भने ८ जना महिला कर्तव्य ज्यान मुद्दाका छन् । त्यसै गरी लागू औषधमा ३८, बहुविवाह तथा बालविवाहमा १६ जना कैदी तथा थुनुवा रहेका छन् ।

कारागारमा चेलीबेटि बेचविखन, सार्वजनिक अपराध, चोरी, ठगी, सवारी ज्यान लगाएतका मुद्दामा थुनुवा र कैदी रहेको जानकारी दिइएको छ । थुनुवा र कैदी गरी १९ महिला बन्दी रहेको कारागारले जानकारी दिएको छ । ति मध्ये ६ जना दलित महिला लागू औषध, चेलीबेटि बेचविखन तथा कर्तव्य ज्यान मुद्दाका रहेका जानकारी दिइएकोे छ । जम्मा १ सय ७८ पुरुष र १९ महिला गरी १ सय ९७ जना कैदी तथा थुनुवा कारागार कार्यालय सुर्खेतमा बन्दी छन् ।

पचास जनाको क्षमता भएको सुर्खेत कारागारमा महिलाहरुका लागि त्यति समस्या नभएपनि पुरुषहरुका लागि भने भवन नहुँदा ठुलो समस्या कारागार कार्यालय सुर्खेतले व्यहोर्नु परेको छ । क्षमता भन्दा बढी कैदी बन्दी राख्नुपर्दा शौचालयकोसमेत समस्या भएको कार्यालयले बताएको छ ।

तस्बिर : सीता वली

प्रकाशित समय २०:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु