गृहपृष्ठ महिलाहरुको प्रतिनिधित्वसहित मन्त्रीमण्डल विस्तार गर्छु : मुख्यमन्त्री राई
महिलाहरुको प्रतिनिधित्वसहित मन्त्रीमण्डल विस्तार गर्छु : मुख्यमन्त्री राई
प्रदेश- १ का मुख्यमन्त्री शेरधन राईले महिलाहरुको प्रतिनिधित्व गराउँदै मन्त्रीमण्डल विस्तारको तयारीमा रहेको बताएका छन् । प्रदेशस्थित सामाजिक विकास मन्त्रालयले १ सय ९ औं अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा विराटनगरमा आयोजना गरेको महिला हक अधिकारसम्बन्धी दुईदिने प्रादेशिक महिला सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
कार्यक्रमका सहभागी महिला जनप्रतिनिधिहरुले प्रदेश सरकार महिलामैत्री नभएको प्रश्न उठाएपछि प्रत्युत्तरमा मुख्यमन्त्री राईले महिलालाई सहभागी गराएर मन्त्रीमण्डल विस्तारको तयारीमा रहेको प्रष्ट पारे । अब छिट्टै विस्तार हुने प्रदेश मन्त्रीमण्डलमा महिलाहरुलाई समुचित स्थान दिइने उनको भनाइ थियो ।
‘प्रदेश सरकारमा महिलाको प्रतिनिधित्व नभएको वारम्बार गुनासो आइरहेको छ । आज तपाईहरुले प्रश्ननै उठाउनु भयो,’ मुख्यमन्त्री राईले भने, ‘तपाईंहरु ढुक्क हुनुस् महिलाको उचित सहभागितासहित मन्त्रीमण्डल विस्तारको तयारीमा प्रदेश सरकार छ ।’
सहभागिले उठाएका जिज्ञासाको जवाफ दिँदै सामाजिक विकासमन्त्री जीवन घिमिरेले १ नम्बर प्रदेशलाई महिलामैत्री बनाइने प्रतिवद्धता जनाए । उनले त्यसका लागि ऐन, कानुन र निति निर्माण गर्नुपर्ने भएकाले त्यसको पूर्वाभ्यासका लागि दुईदिने कार्यक्रम गरिएको बताए ।
कार्यक्रमबाट प्राप्त सुझावले प्रदेश सरकारको महिलासम्बन्धी नीति, महिला उत्थानका कार्यक्रम र कार्ययोजना बनाउन सघाउ पुग्ने मन्त्री घिमिरेले बताए ।
‘अझ प्रदेशका धेरै एन कानुन बनाउनु पर्नेछ । ति कानुन र नीतिहरु महिलामैत्री बनाउन प्रदेश सरकारले कुनै कसर बाँकि राख्ने छैन,’ उनले भने ।
प्रकाशित समय १९:१३ बजे

















