गृहपृष्ठ राजपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

राजपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

rajapa-newskarobar

राष्ट्रिय जनता पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार बसेको राजपा अधयक्ष मण्डलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

टीकापुर घटनामा दोषी ठहर गर्दे कैलाली जिल्ला अदालतले राजपा सांसद रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएपछि राजपा अध्यक्ष मण्डलको आकस्मिक बैठक बसेको थियो ।

मधेस आन्दोलनमा झुटा मुद्दा लगाइएकालाई मुद्दा फिर्ता, घाइतेको उपचार, संविधान संशोधनलगायत विषयमा सरकारले चासो नदिएको भन्दै राजपाले समर्थन फिर्ता लिएको हो । जिल्ला अदालत कैलालीले टीकापुर घटनामा संलग्न भएको आरोपमा सांसद चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला गरेको घटनाले राजपालाई स्तब्ध र मर्माहत बनाएको अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बहुमत प्राप्त सरकारले निर्मला पन्तको हत्यार पत्ता लगाउन नसकेको, एक वर्षमा शान्ति सुरक्षा कायम गर्न असफल भइएकोलगायत आरोप राजपाले लगाएको छ । यस्तै, शोषण, उत्पीडन र विभेदका विरुद्धमा पहिचनावादी शक्ति र समूहलाई राजपाले मोर्चाबन्दी र सहकार्यका लागि आह्वानसमेत गरेको छ ।

अघिल्लो वर्ष सरकार बन्दा मधेसकेन्द्रित दुई राष्ट्रिय दल राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र संघीय समाजवादी फोरमले पनि समर्थन गरेका थिए । २०७४ फागुन २७ मा संसदमा विश्वासको मत लिँदा ति दुई दलले ओलीको पक्षमा मत हालेपछि सरकारका पक्षमा दुईतिहाइ पुगेको थियो ।

ओलीलाई मत दिने फोरम अहिले सरकारमा सहभागी छ । अर्को दल राजपाले पनि ओलीलाई समर्थन गरे पनि सरकारमा भने सहभागी भएको थिएन । सरकारलाई समर्थन गरेपनि ऊ प्रतिपक्ष बेन्चमा बस्दै आएको थियो ।

प्रकाशित समय २०:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु