गृहपृष्ठ श्रद्धाञ्जलि सभामा रसाए आँखा
श्रद्धाञ्जलि सभामा रसाए आँखा
हेलिकप्टर दुर्घटनामा दिवङ्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस प्राङ्गणमा बुधबार आयोजित श्रद्धाञ्जलिसभामा उपस्थित सबैका आँखा रसाएका थिए । अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) ले आयोजना गरेको सो सभामा उपस्थित सबैका आँखा अधिकारीको सम्झनामा रसाएको थियो । सहभागीले नेता अधिकारी पूरा गर्न नसकेको कामलाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । अनेरास्ववियूका पूर्वअध्यक्षको तस्बिरमा माल्यापर्ण गर्न पुगेका सबै विद्यार्थीको अनुहार मलिन देखिन्थ्यो ।
सभामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमले दिवङ्गत अधिकारीले छोडेका कामलाई पूरा गरेमात्र सच्चा श्रद्धाञ्जलि हुने बताए । ‘अधिकारी निधन भएको पीडा पोख्दा मेरा आँखाबाट समुद्र बग्न सक्दछ,’ गौतमले भने, ‘तर अब आँखाबाट समुद्र बगाएर हुँदैन । उहाँका अधुरा सपनालाई पूरा गर्न म सङ्कल्प लिन्छु ।’ गौतमले आफू जति समय बाँचे पनि अधिकारीकै उत्तराधिकारी भएर काम गर्ने बताए ।
गौतमले पछिल्लो पुस्ताको राम्रो नेताका रुपमा अधिकारी रहेको आफूले पाएको भन्दै उनमा जस्तोसुकै परिस्थितिलाई पनि जिम्मेवारीपूर्वक बहन गर्ने कुशलता रहेको उल्लेख गरे । ‘कम्युनिस्ट आन्दोलन हाँक्नसक्ने युवा नेताका रुपमा मैले हेरेको थिएँ,’ उनले भने, ‘वर्ग सङ्घर्ष दर्शनमा पोख्त, राजनीतिक क्षेत्रमा धेरै कुरा हासिल गरी सफलता प्राप्त गर्ने व्यक्तिका रुपमा मैले पाएको थिए ।’
राष्ट्रियसभामा नेकपाका सचेतक तथा अनेरास्ववियुका पूर्वअध्यक्ष खिमलाल भट्टराईले वैचारिक र साङ्गठनिकरुपमा सबैले भविष्य भएको नेताका रुपमा अधिकारीलाई लिएको बताए । ‘उहाँमा सिद्दान्त, विचारमा अडिग र व्यवहारमा लचकताको गुण थियो,’ भट्टराईले भने, ‘सबै मानिस पदमा पुगेर सफल हुन सक्दैनन् । पदमा पुगेपछि अधिकारी जस्तोसुकै परिस्थितिमा पनि आफूलाई सफल बनाउन सक्नुहुन्थ्यो ।’
सभामा त्रिविका उपकुलपति डा. तीर्थप्रसाद खनियाँले छोटो अवसरमा पछिल्लो पटक स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा २८ वर्षे उमेरहदबन्दी कायम गर्नमा अधिकारीको भूमिकासमेत रहेको बताए । ‘स्ववियु निर्वाचनका लागि २८ वर्षे उमेरहदबन्दी राख्नुहोस् । मैले हेरेको सङ्गठनबाट केही अवरोध हुँदैन भनेर भन्नुभयो,’ खनियाँले भने, ‘उहाँकै कारण त्रिविसभाबाट स्ववियु निर्वाचनका लागि हामीले २८ वर्षे उमेरहदबन्दी कायम राख्यौं ।’
सभामा नेकपाका केन्द्रीय सदस्य तथा अनेरास्ववियुका पूर्वअध्यक्ष ठाकुर गैरेले आफूहरुको पुस्ताको आशा भरोसाको नेताका रुपमा अधिकारीलाई पाएको बताए । गैरेले अधिकारीको नेतृत्वमा आफू अखिलको सचिव भएर काम गरेको उल्लेख गर्दै उनको गलामा फूलमाला लगाउनुपर्ने बेला तस्बिरमा माला लगाउनुपरेको दुःखेसो व्यक्त गरे । गैरेले अधिकारीको नेतृत्वमा भएको विद्यार्थी आन्दोलनलाई बिर्सन नसकिनेसमेत बताए ।
‘चाहे दशौं हजार विद्यार्थीसहित लक्ष्मणपुर बाँध भत्काउने होस कि सुस्तामा मिचिएको नेपाली भूमि फर्काउन उहाँको नेतृत्वमा गरिएको आन्दोलन किन नहोस्,’ गैरेले भने, ‘अधिकारीले साझा शैक्षिक आन्दोलनदेखि मुलुकमा भएको थिचोमिचोका विरुद्ध सधैं अग्रणी भएर आन्दोलन गर्नुभयो ।’
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष प्रदीप पौडेलले एउटै कमिटीमा रहेर काम नगरे पनि संयुक्त विद्यार्थी आन्दोलनलाई फरक रचनात्मक ढङ्गले अघि बढाएको बताए । गायक प्रवीण गुरुङगको हत्या पारस शाहले गरेको भन्दै दरबार हत्यारालाई कारबाही गर्न बुझाएको ज्ञापनपत्रबाट राजतन्त्रविरुद्धको आन्दोलन सुरु भएको उनले बताए ।
‘उहाँले रत्नपार्कको रातोघरमा बसेर गुरुङगले न्याय पाउनुपर्दछ भनेर हस्ताक्षर सङ्कलन सुरु गर्नुभएको थियो,’ पौडेलले भने, ‘त्यही घटनाबाट दरबारतिर नेपाली जनता खुलारुपमा लड्न सिकाएको हो ।’ नेता पौडेलले अधिकारी कम्युनिस्ट भए पनि पृथ्वीनारायण क्याम्पसमा आफ्ना गाउँका कांग्रेसका विद्यार्थीलाई भर्ना गराएको स्मरण गरे ।
अधिकारी त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सभापति रहँदा आफू पनि अमृत साइन्स क्याम्पसको स्ववियु सभापति रहेको उल्लेख गर्दै नेता पौडेलले भने, ‘मलाई सभापतिका रुपमा काम गर्न अनेरास्ववियुले बाधा पुर्याइरहेका बेला समन्वयत्मक भूमिका उहाँले निभाउनुभएको थियो ।’
सभामा क्रान्तिकारीका पूर्वअध्यक्ष हिमाल शर्माले अधिकारी अखिलको मात्र नभएर समग्र विद्यार्थीको अभिभावक रहेको बताए । शर्माले कुनै पनि विद्यार्थी आन्दोलनलाई निष्कर्षमा पुर्याउन अधिकारीको भूमिका अतुलनीय रहेको बताए । सभामा अनेरास्ववियुका अध्यक्ष नवीना लामा र क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले अधिकारी भौतिकरुपमा नभए पनि विद्यार्थी आन्दोलनमा उनले देखाएको बाटोमा लाग्ने बताए ।
दुवै सङ्गठनले गरीब जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिन रवीन्द्र अधिकारीका नाममा २० लाखको अक्षय कोष स्थापना गरेको अनेरास्ववियुका महासचिव ऐन महरले जानकारी दिए । गत फागुन १५ गते हेलिकप्टर दुर्घटनामा निधन भएका अधिकारी पहिलोपटक पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा स्ववियु सभापति भएपछि वि.सं. २०५३ मा दोस्रोपटक त्रिवि केन्द्रीय क्याम्पसमा स्ववियु सभापति बनेका थिए ।
प्रकाशित समय २०:३१ बजे

















