गृहपृष्ठ प्रधानमन्त्री सवार जहाज होल्ड हुनुमा क्यानको कमजोरी, विभागीय कारबाही गर्न सिफारिस
प्रधानमन्त्री सवार जहाज होल्ड हुनुमा क्यानको कमजोरी, विभागीय कारबाही गर्न सिफारिस
प्रधानमन्त्री केपी शर्मा ओली सवार जहाज आकासमा फन्को लगाउनु (होल्ड) भएको सम्बन्धमा छानबिन गर्न गठित समितिले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को कमजोरी औँल्याएको छ ।
समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनराज्यमन्त्री धनबहादुर बुढालाई बुझाएको प्रतिवेदनमा अतिविशिष्ट व्यक्तिको आन्तरिक उडानमा प्राथमिकताको संवेदनशीलता ख्याल नगरेको भन्दै क्यान र सम्बन्धित एयरलाइन्सका कर्मचारीलाई विभागीय कार्वाही गर्न सिफारिस गरेको हो ।
भीभीआईपी चढेको जहाज आकाशमा आधा घण्टा होल्ड भएपछि अनुसन्धान गर्न सरकारले पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । गएको फागुन २१ गते प्रधानमन्त्री ओली सवार यति एयरलाइन्सको जहाज चन्द्रगढी विमानस्थलबाट काठमाण्डौ अवतरणका क्रममा होल्ड भएको थियो ।
समितिले चन्द्रगढी नागरिक उड्डयन कार्यालयका प्रमुख र विमानस्थलका टावर कन्ट्रोलरलाई विभागीय कार्वाही गर्न क्यानलाई लेखी पठाउने तथा यती एयरलाइन्सका ग्राउण्ड ह्याण्डलिङ म्यानेजर र फ्लाइट डिपार्चरलाई ड्युटीमा लापरवाही गरेका कारण विभागीय कार्वाही गर्न यती एयरलाइन्सलाई निर्देशन दिने सिफारिश गरेको छ ।
चन्द्रगढी विमानस्थलस्थित यति एयरलाइन्सका फ्लाइट डिपार्चरलाई भिभिआइपी सवार हुने उडान तय भएको व्यहोरा फ्लाइट प्लानमा नजनाई टावरमा पेश गरेकामा निजलाई विभागीय कार्वाही गर्न यति एयरलाइन्सलाई निर्देशन दिने जनाएको छ ।
यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एप्रोच कन्ट्रोलमा भीभीआईपी सवार उडान ह्याण्डिल गर्ने ड्युटी कन्ट्रोलर, सुपरभाइजर र कोअर्डिनेटरलाई सचेत गराई अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को एनेक्स १ पर्सनल लिसिनिङमा भएको व्यवस्थाअनुसार स्वास्थ्य परीक्षण गराई श्रवण क्षमता यकिन गरेर मात्र काममा लगाउन क्यानलाई लेखी पठाउने सिफारिश गरेको छ ।
यति एयरलाइन्स उडान नं एनवाइटी ९२६ का चालकलाई फ्लाइट प्लान रुजु नगरेको र आफूले उडान भरेको वायुयानमा भीभीआईपी चढेको व्यहोरा सम्बन्धित एटिएस युनिटलाई जानकारी भएरनभएको यकिन नगरेका कारण सचेत गराउन यती एयरलाइन्सलाई निर्देशन दिइएको प्रतिवेदनमा उल्लेख छ ।
समितिका संयोजक सुरेश आचार्यले एयरलाइन्स कम्पनी र चन्द्रगढी विमानस्थलका एटिसीले अतिविशिष्ट व्यक्तिको उडानबारे संवेदनशील नभएको र विमान चालक पाइलटले समेत काठमाडौँ विमानस्थल टावरलाई सही सूचना नदिएकाले जहाज होल्ड भएको अनुसन्धानका क्रममा खुलेको उल्लेख गरे । उनले घटनामा संलग्न दोषीलाई कार्वाही गर्न र आगामी दिनमा यस्ता गतिविधि सुधार्न तथा अतिविशिष्ट व्यक्तिको उडानमा सुरक्षालाई मध्यनजर गर्दै बेलैमा जानकारी गराउन नेपाल प्रहरीलाई समेत सचेत गराइने बताए ।
यस्तै छानबिन समितिले यती एयरलाइन्सलगायत सबै वायुसेवा कम्पनीले आ–आफ्नो फ्लाइट प्रोग्राम र फ्लाइट प्लानमा भीभीआईपीले उडान गर्ने भए अनिवार्यरुपमा जानकारी दिन सुझाव दिएका छन् ।
प्रस्थान गर्ने विमानस्थलको एटिएस युनिटले पनि गन्तव्य विमानस्थलको एटिएस युनिटमा रेडियो सम्पर्क वा अन्य विद्युतीय माध्यमबाट भीभीआईपीले उडान गर्ने भए अनिवार्य रुपमा सम्प्रेषण गर्नुपर्ने र फ्लाइट कार्यक्रम तथा फ्लाइट प्लान बुझाउने व्यवस्था नभएका विमानस्थलमा भीभीआईपी सवार उडान हुने भए चालक दलले रेडियो सञ्चारमार्फत यो व्यहोरा सम्बन्धित एटिएस युनिटलाई अनिवार्य रुपमा जानकारी गराउनुपर्ने उल्लेख गरिएको छ ।(रासस)
प्रकाशित समय ०६:५७ बजे

















