गृहपृष्ठ बन्द-हड्ताल नगर्न ‘विप्लव’ समूहलाई आयोगको आग्रह
बन्द-हड्ताल नगर्न ‘विप्लव’ समूहलाई आयोगको आग्रह
राष्ट्रिय मानवअधिकार आयोगले विप्लव समूहलाई बन्द हड्ताल नगर्न आग्रह गरेको छ । आयोगले प्रेस विज्ञप्ति निकालेर बन्द हड्ताल नगर्न आग्रह गरेको हो । यही चैत १६ गते सो समूहले आह्वान गरेको नेपाल बन्दजस्तो आमनागरिकका लागि कष्टप्रद र मानवअधिकारलाई निस्तेज पार्ने किसिमका कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ ।
आयोगका सचिव वेद भट्टराईले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा बन्दको कार्यक्रम फिर्ता लिन आग्रह गरिएको छ । बन्दजस्तो कष्टकर र सामान्य जनजीवन नै ठप्प हुने किसिमको विरोधको कार्यक्रमले आमनागरिकको स्वतन्त्रतापूर्वक हिँड्डुल गर्न पाउने अधिकार, स्वास्थ्यको अधिकार, शिक्षा, पेशा व्यवसाय तथा रोजगारीको अधिकार र न्यायमा पहुँचलगायतका विभिन्न अधिकारको उपभोगमा असर पर्ने देखिने विज्ञप्तिमा उल्लेख छ ।
नेपालको संविधान एवं विभिन्न राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय मानवअधिकार कानूनले प्रत्याभूत गरेका अधिकारको उपभोगबाट सामान्य नागरिकसमेत वञ्चित रहनुपर्ने स्थिति रहने र बन्दको आह्वानले आमनागरिकको हकअधिकार संरक्षणभन्दा जनजीवन नै कष्टकर र पीडादायी हुने हुँदा विरोधका कार्यक्रम फिर्ता लिन आयोगले ध्यानाकर्षण गराएको छ ।
आयोगले चन्दा, विष्फोट, हत्या, हिंसायुक्त कार्य नगर्न, कतै पनि भययुक्त वातावरण सिर्जना नगर्न, राजनीतिक विचार, आस्था र आशङ्काको भरमा यथेष्ट प्रमाणबिना महिला, बालबालिका वा अन्य कुनै पनि नागरिकलाई धरपकड नगर्न, संविधानप्रदत्त अधिकारको प्रयोग गर्न पाउने वातावरण सुनिश्चित गर्न आग्रह गरेको छ ।
कुनै पनि द्वन्द्व, विमति वा सङ्घर्षको स्थितिलाई प्रतिद्वन्द्वबाट भन्दा वार्ता र संवादबाटै निराकरण गर्न सकिने भएको र नेपालमा पनि विगतमा भएका सशस्त्र द्वन्द्व तथा विभिन्न प्रकारका सङ्घर्ष एवं आन्दोलन वार्ता र संवादबाटै अन्त्य भएको दृष्टान्तलाई आत्मसात् गर्दै त्यसतर्फ गम्भीर रहन पनि आयोगले सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ ।

प्रकाशित समय १६:०८ बजे

















