गृहपृष्ठ धेरै पुस्तक पढ्ने कैदिबन्दिलाई पुरस्कार दिइने
धेरै पुस्तक पढ्ने कैदिबन्दिलाई पुरस्कार दिइने
कर्णाली प्रदेशका प्रमुख सचिब रामप्रसाद थपलियाले कारागारमा अब क्यारमबोर्ड खेलेर समय बिताउन नपर्ने बताएका छन् । आइतबार सुर्खेत कारागारमा बुक क्लब गठन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने ‘खाली दिमाग राक्षसको घर हो । त्यसैले आफुलाई व्यस्त राख्नुपर्छ । कारागारमा समय बिताउनको लागी कैदिबन्दिहरुले लुडो र क्यारमबोर्ड खेल्दै आएका छन् । कारागारमा पुस्तकालय स्थापना पछि कैदिबन्दिका यी बाध्यता हट्ने छ ।’
कर्णाली प्रदेशमा सञ्चालन भएको कारागारलाई किताब अभियान नेपालकै नमुना भएको भन्दै थपलियाले यसबाट सबैले पाठ सिक्नुुपर्ने बताए । पुस्तकबाट थुप्रै ज्ञान प्राप्त गर्न सकिने भन्दै उनले यसको सहि प्रयोग गर्न समते कैदिबन्दिहरुलाई आग्रह गरे ।
त्यस्तै कार्यक्रममा बोल्दै कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा कारागारलाई किताब अभियानका संयोजक डिआईजी महेशविक्रम शाहले पुस्तकका माध्यमबाट जिवनको प्रकाश खोज्नुपर्ने बताए ।
उनले भने ‘ कारागारलाई सुधार गृह बनाउने नेपालसरकारको लक्ष्यलाई यो अभियानले सहयोग गर्दछ । किताबमा जिबन बदल्न सक्ने सामथ्र्य हुन्छ । किताबमा भएको ज्ञान जती बढि लिन सक्यो जिबनमा त्यती नै उज्यालो थपिन्छ । ’
पुस्तकालय स्थापना गरेर मात्रै हुंदैन । शाहले थपे ‘हरके शनिबार पुस्तकहरुको समिक्षा गर्ने र मासिक रुपमा सबैभन्दा बढि पुस्तक पढ्नेलाई पुरस्कारको व्यवस्था गर्ने हाम्रो योजना छ ।’
पुस्तकालयको निगरानी र संरक्षणको जिम्मा बुुक क्लबका पदाधिकारीहरुलाई दिने तयारी समेत भएको डिआइजी शाहले बताए ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख विरेन्द्र यादव, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख बसन्त रजौर, सुर्खेत कारागार कार्यालयका निमित्त जेलर जंगबहादुर थापा लगायतको सहभागीता थियो ।
कारागारमा सात सदस्यीय बुक क्लब गठन
कारागार कार्यालयमा स्थापना हुने पुस्तकालयको संरक्षणको लागि सात सदस्यीय बुक क्लब समेत गठन गरिएको छ । क्लबको सदस्यहरुमा धर्मराज वि.क, खगेन्द्र थापा, भिमबहादुर वि.क, जयबहादुर मल्ल, कमल बिसी, कुमार कार्की र हिरा सिंह रहेका छन् ।
कर्णाली प्रदेशका १० वटै जिल्ला कारागारमा स्थापना हुने पुस्तकालयको संरक्षणको लागी बुक क्लब गठन गरिएको कारागारलाई किताब अभियानका संयोजक महेशविक्रम शाहले बताए ।
यहि चैत्र २३ गते प्रदेशका १० वटै जिल्ला कारागारमा स्थापना हुने पुस्तकालयको तयारी पूरा भएको समेत जानकारी उनले दिए । अभियानले प्रदेशभर करिब सात हजार पुस्तक संकलन गरी कारागारहरुमा पुस्तकालय स्थापना गर्दैछ ।
प्रकाशित समय १३:५६ बजे

















