गृहपृष्ठ हावाहुरी प्रभावितका लागि राहत जुट्न थाल्यो
हावाहुरी प्रभावितका लागि राहत जुट्न थाल्यो
बारा पर्साका हावाहुरी प्रभावितहरुका लागि राहत जुट्न थालेको छ । सयौं घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने हावाहुरीले घर उजाडिएकाहरु खुला आकाशमा राहतको पर्खाइमा छन् । उनीहरुको लागी राहत तथा सहयोगको लागी संघीय सरकारदेखि नीजी क्षेत्रसम्मबाट सहयोग जुट्न थालेको हो । प्रदेश २ सरकारले मुख्यमन्त्री राहत कोषमा सहयोग रकम जम्मा गरिदिन आह्वान गरेको छ ।
राष्ट्रिय बाणिज्य बैंकमा रहेको खाना नम्बर १२२०५०३०००००० मा रकम जम्मा गर्न सकिनेछ । साथै मोबाइल बैंकिङबाट पनि कोषमा रकम जम्मा गर्न सकिनेछ । त्यसअनुसार विभिन्न संघ संस्थाले सहयोग गर्न थालेका छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपाका सासंदहरुले एक दिनका पारिश्रमिक दिने निर्णय गरेका छन् । मुख्य बिपक्षी नेपाली काग्रेसका सांसदहरुले ३ दिनको पारिश्रमिक दिने घोषणा गरेका छन् । यस्तै राष्ट्रिय जनता पार्टीले ५ लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ ।
यस्तै तिलोत्तमा नागरपालिका, रुपन्देहीका जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरुले एक दिन बराबरीको तलव भत्ताबाट चार लाख रुपैयाँ मुख्यमन्त्री राहत कोषमा जम्मा गर्ने भएको छ । नेपथ्य समूह र नेपालयले पनि हावाहुरी प्रभावितहरुका लागि ५१ हजार रुपैयाँ सहयोग गरेको छ । वीरगञ्ज लगायतका स्थानमा पनि राहत संकलन सुरु भएको छ ।
संघीय सरकारले ४६८ वटा त्रिपाल हावा हुरी प्रभावित जिल्लमा पठाएको छ । गृह मन्त्रालयको विपद व्यवस्थापन महाशाखाकाअनुसार सशस्त्र प्रहरीको ट्रकमार्फत ४६८ वटा त्रिपाल बारा र पर्सातर्फ पठाएको छ । ५ सय घर परिवार प्रभावित भएको जानकारीका आधारमा त्यति मात्रै त्रिपाल पठाइएको महाशाखाका उपसचिव वेदनिधि खनालले बताए । संघीय सरकारले विपदका समयका लागि मौज्दात राख्ने गरिएको हेटौंडास्थित खाद्यान्न समाग्रीको गोदाम घर प्रदेश सरकारलाई नै जिम्मा लगाएको छ ।
यता नेपाल उद्योग वाणिज्य महासंघले बारा र पर्साका हावाहुरी पीडितका लागि ५० लाख सहयोग गर्ने घोषणा गरेको छ । महासंघको सोमबार बसेको आकस्मिक बैठकले ५० लाखको राहत कोष खडा गरेर हावाहुरीले प्रभावित बारा र पर्साका पीडितहरुलाई राहत वितरण गर्ने निर्णय गरेको हो । बैठकले प्रभावित क्षेत्रमा मानवीय सहायतासँगै खाद्यान्न, त्रिपाल, टेन्ट लगायतका अत्यावश्यक राहत सामग्री भने तत्काल नै वितरण गर्न शुरु गर्ने निर्णय गरेको महासंघका अध्यक्ष भवानी राणाले बताइन् ।
प्रकाशित समय १७:४७ बजे

















