गृहपृष्ठ पानी बेचेर डलर कमाउने मन्त्री बिना मगरको योजनामा कतारको साथ

पानी बेचेर डलर कमाउने मन्त्री बिना मगरको योजनामा कतारको साथ

khanepani-minister-newskarobar

केही महिनाअघि खानेमन्त्री बिमा मगरले नेपालबाट स्प्रिङ वाटर निर्यात गर्ने भाषण गर्दा सामाजिक सञ्जालदेखि प्रतिपक्षी दलका नेतासम्मका लागि गतिलो मसला बन्यो । राजधानीबासीले पिउने पानीको सहज उपभोग गर्न नपाइरहेका बेला पानी निर्यात गर्ने मन्त्रीको चाहना सबैका लागि अप्रिय बन्नु स्वाभाविक पनि थियो । तर, ‘काग गराउँदै गर्छ पिना सुक्दै गर्छ’ भनेझैं उनी सबै किसिमका आलोचनाको बेवास्ता गर्दै आफ्नो योजना पूरा गर्न निरन्तर लागिरहिन् ।

नेपालबाट स्प्रिङ वाटर निर्यात गर्ने मन्त्रीको योजनामा कुनै व्यवधान नआए अब पानी बेचेर डलर कमाउन नेपाल सफल हुनेछ । मंगलबार खानेपानी मन्त्रालयमा मन्त्री मगरसँग शिष्टाचार भेट गर्दै कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलले नेपालको पानी पिउन कतार आतुर रहेकाले पानी निर्यातका लागि दुवै देशका सरकारबीच समझदारी आवश्यक रहेको बताएपछि मन्त्री मगरको योजना सार्थकताउन्मुख बनेको हो ।

‘कतारलाई ग्यास र तेलको अभाव छैन तर शुद्ध पिउने पानीको भने समस्या छ । भोलिका दिनमा पानीको समस्या आउने हामीलाई चिन्ता छ,’ मन्त्री मगरलाई भेट्न खानेपानी मन्त्रालय सिंहदरबार पुगेका राजदूत हेलले भने, ‘त्यसैले नेपालको पानी कतारमा लैजाने विषयमा दुवै देशका सरकारबीच समझदारी गर्नु अति आवश्यक छ ।’

उनले अरु देशको भन्दा नेपालको पानी स्वच्छ र प्राकृतिक मिनरलयुक्त रहेको बताए । नेपालबाट पानी निर्यात गर्ने विषयमा थप छलफल गरिसकेपछि सहमतिमा हस्ताक्षर गर्न कतार सरकार तयार रहेको राजदूत हेलले जानकारी गराए ।

भेटमा मन्त्री मगरले नेपालको पानी निर्यात गर्ने विषयमा मन्त्रालयले गृहकार्य गरिरहेको स्पष्ट पारिन् । ‘पानीको स्रोतको सदुपयोग गरेर स्प्रिङ वाटर निर्यात गर्ने विषयमा मेरो ध्यान बढी केन्द्रित छ । कतार सरकारसँग सहकार्य गरेर अघि बढ्न म एकदम उत्साहित छु,’ उनले भनिन् ।

स्प्रिङ वाटर निर्यात गर्ने विषयमा दुवै देशका प्रतिनिधिहरुबीच थप छलफल गरेर अघि बढ्ने उनले जवाफ दिइन् । त्यसका लागि नेपाल र कतार सरकारबीच समझदारी गर्ने विषयमा प्रक्रिया अघि बढाउन खानेपानी विभागका महानिर्देशकलाई उनले निर्देशन दिइन् ।

भेटमा सहभागी विभागका महानिर्देशक सुनिलकुमार दासले स्प्रिङ वाटर निर्यात गर्ने विषयमा छिट्टै विस्तृत अध्ययन अगाडि बढाउने र दुवै देशबीच सम्झौताको मस्यौदा तयार पार्ने बताए ।

प्रकाशित समय २०:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु