गृहपृष्ठ संघीयता कार्यान्वयनले बजेट खर्च भएन : मन्त्री आङ्वो
संघीयता कार्यान्वयनले बजेट खर्च भएन : मन्त्री आङ्वो
प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेश सरकार गठन भएको पहिलो वर्ष संघीयता कार्यान्वयनमा खर्चेका कारण अपेक्षित रुपमा बजेट खर्च हुन नसकेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले मंगलबार विराटनगरमा आयोजना गरेको सार्वजनिक खर्च व्यवस्थापन विषयक अन्तर्क्रियामा मन्त्री आङ्बोले विकास र समृद्धि तीनै तहको सरकारको अर्जुन दृष्टि रहेको बताए ।
मन्त्री आङ्बोले संघीयता कार्यान्वयन, कर्मचारी समायोजन, परम्परागत झन्झटिलो खरिद प्रक्रियालगायतका कारण पनि सोचेअनुरुप अपेक्षित बजेट खर्च हुन नसकेको स्वीकार गरे । उनले बजेट खर्च गर्दा बित्तिय अनुशासनलाई कायम राखिनुपर्नेमा विशेष जोड दिएका छन् ।
कार्यक्रममा सहभागी सरोकारवालाहरुले सरकारी ढुकुटीको रकम खर्च गर्दा वित्तीय अनुशासन कायम राख्न जोड दिएका थिए । अन्तर्क्रियामा वक्ताहरुले जनताले गाँस काटेर तिरेको रकम सरकारी ढुकुटीमा जम्मा हुने भएकाले रकम खर्च गर्दा वित्तीय अनुशासन प्रभावकारी रुपमा कायम राख्न जोड दिएका हुन् ।
उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले करदाताले तिरेको रकम विकास निर्माणलगायत विभिन्न शीर्षकमा खर्च गर्दा समेत वित्तीय अनुशासनलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए । उनले विकास बजेट न्यूनमात्र खर्च भएका कारण उद्योगसमेत संकटमा परेको सुनाए । यस्तै मोरङ ब्यापार संघका अध्यक्ष पवनकुमार सारडाले सही र पारदर्शी योजनामा लगानी नगर्दासम्म देशले गति लिन नसक्ने विचार व्यक्त गरे ।
प्रकाशित समय २१:२६ बजे

















