गृहपृष्ठ स्थलगत रिपोर्ट : शोकमा डुबेको फेटामा जे देखियो
स्थलगत रिपोर्ट : शोकमा डुबेको फेटामा जे देखियो
साँझको सबा सात बजेको थियो । सबैको घरमा चुल्हो बाल्ने तरखर हुँदै थियो । बालबालिका घर–आँगनमा खेल्दै थिए । गरीब भएपनि साँझ बालेको बत्ति झैँ सबैको मुहारमा खुसीको चमक थियो । तर, आइतबार राति त्यो गरीब बस्तीमा महाप्रलय भयो । एकएक आएको हावाहरीले बस्ती नै सखाब भयो । अहिले बाराको फेटा गाउँपालिका शोकमा डुबेको छ ।बस्तीमा सन्नटा छ ।
फेटा गाउँपालिकाको वडा नम्बर १ का ३५ घर परिवार घरको न घाटको भएका छन् । सो बस्तीका कुनै पनि घर ठाडो छैन । मात्र सन्नटा छ । ‘दुई तीन मिनेटमै हावाहुरीले सबै सखाप बनायो’, ६५ वर्षीय हरिनारायण दास सम्झन्छन् ।
६५ वर्षीय श्रीमानको घरमै चेपिएर मृत्यु भएपछि कलावती देवी अझै होसमा छैनिन् । घर त ढल्यो, सँगै श्रीमान पनि ढलेपछि उनको जीवन नै उजाड भएको छ । ‘मरेर जाने त गए अब कहाँ बस्ने के खाने भन्ने चिन्ता पनि उत्तिकै छ’ कलावतीका आँखाबाट आँशु झरे । १० जनाको परिवार कसरी पाल्ने भन्ने चिन्तामा छिन् उनी ।
सोही बस्तीका रामसुरत दासको श्रीमती मोतिसरीदेवी दास र बुहारी रिना देवीको एउटै घरमा चेपिएर मृत्यु भयो । श्रीमति र बुहारीको एक साथ मृत्यु भएपछि उनको नातिनातीनाको बिचल्ली भएको छ । आमा र हजुरआमाले एक साथ मृत्युवरण गरेको खबर अहिलेसम्म ती बालबालिकालाई थाहा छैन । रिनाको ३ वर्षीया छोरी निशा र ९ महिनाको छोरा संजित रहेका छन् । उनले आफू मेरेर छोरा छोरीलाई बचाइन् । हावाहरी आएपछि रिनाले छोरालाई खाटको खुट्टामा बाँधेकी थिइन् । घर डल्यो उनी ढलिन् तर छोरालाई केहि भएन । आमाको दुध चुस्दै गरेका संजितलाई के खुवाएर हुर्काउने भन्ने तनावमा बुबा भिम दास छन् । सो वस्तीमा ३ जनाको मृत्यु हुनुको साथै ५० भन्दा बढी घाइते भएका छन ।
वडा नम्बर १ को ३५ घरमा क्षति पुगेको छ । पक्कि घरबाहेक माटो र काठले बनाइएको घर भत्किएको छ । अझै पनि राहत र उद्धारको काम भइरहेको छ । खेतबारीमा लगाएको अन्न बाली पनि सखाप भएको छ । अझै पनि राहतको अवश्यक रहेको वडाअध्यक्ष जयप्रकाश दासले बताए । सो बस्तीमा रोग फैलन नदिन शिविर समेत संचालन गरिएको छ । जितपुर उद्योग वाणिज्य संघको सहयोगमा शिविर संचालन गरिएको हो । बिजुली बत्तिको समस्या भएकाले जेनेरेटरको व्यवस्था गरिएको छ । ‘पीडितहरुलाई सामुहिक भोजनालयको व्यवस्था गरेका छौं’, वडाअध्यक्ष दासले भने ।
प्रकाशित समय १२:२० बजे

















