गृहपृष्ठ सिके राउतले प्रदेश २ का मुख्यमन्त्रीलाई दलाल र भ्रष्ट भनेपछि…

सिके राउतले प्रदेश २ का मुख्यमन्त्रीलाई दलाल र भ्रष्ट भनेपछि…

मधेस अभियान्ता सिके राउतले प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतमाथि गम्भीर आरोप लगाएका छन् । सामाजिक सञ्जालमा फेसबुकमार्फत उनले मुख्यमन्त्री राउतलाई भ्रष्ट र दलाल भनेका हुन् । गत आइतबार साँझको विनाशकारी हावाहुरीबाट प्रभावित नागरिकलाई राहत दिन नसकेको भन्दै उनले मुख्यमन्त्री राउतको कडा आलोचना गरेका छन् ।

‘बाराका हुरीपीडित जनताहरूलाई १०–२० दिन सामूहिक रूपमा मेस सञ्चालन गरेर दालभात खुवाउन मुख्यमन्त्रीलाई केन्द्र बाधा भयो ? बहानाको पनि हद हुन्छ,’ सिके राउतले फेसबुकमा प्रश्न गरेका छन् ।

अनावश्यक रकम खर्च गर्न केन्द्र बाधा नभएको तर जनतालाई राहत दिने बेला केन्द्र बाधा कसरी भयो भनी राउतले मुख्यमन्त्रीलाई प्रश्न गरेका छन् । ’मुख्यमन्त्रीले विदेशीलाई ३६ व्यञ्जन खुवाउन एकैदिन ७३ लाख खर्च गर्दा केन्द्र बाधा भएन, भोजभतेरमै ४ करोड स्वाहा गर्दा केन्द्र बाधा भएन । जनतासँग छाला काढेसरी कर बढाएर उठाएको करोडौं रुपैयाँ पोखरी र मन्दिर सौन्दर्यीकरणका नाममा आफ्ना लठैत पाल्न केन्द्र बाधा भएन,’ सिके राउतले लेखेका छन् ।
केन्द्र सरकारलाई देखाएर मुख्यमन्त्रीले आफ्नो असक्षमता र भ्रष्टाचार लुकाउन खोजेको उनको आरोप छ ।

प्रकाशित समय १२:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु